शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । एमाओवादी संवद्ध दलहरुको बन्दको कारण आज अर्घाखाँची जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित बन्यो जिल्लामा यातायात, उद्योग व्यापार, शिक्षण संघ संस्था, दिनभर ठप्प भएका थिए ।
सदरमुकाम सन्धिखर्कमा गाउँ गाउँबाट केन्द्रित भएका बन्दकर्ताहरुले प्रदर्शन गर्नुका साथै बजारको चोक चोकमा बसेर बन्द सफल पार्न आग्रह गरेका थिए । बन्दका कारण यातायात सञ्चालन नहुँदा यात्रुहरु गन्तव्यमा पुग्न नपाउँदा बीचबाटोमै अलपत्र परेको देखिन्थ्यो भने, स्कुल पढ्न गएका हजारै विद्यार्थी पढ्न नपाई विहानै घर फर्किएका थिए । सधै गाडि गुड्ने सडकहरु बालबालिकाहरुको खेलकुद स्थल बनेका थिए भने, जिल्लाका उद्योगी व्यापारी तथा बुद्धिजीवीहरु अघिल्लो दिन राती संसद भवनमा घटेको घटना टेलिभिजनमा हेर्दै दिन कटाएका थिए ।
बन्दकर्ताहरुले एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएकोमा साझँ छाडि दिएका थिए । बन्दका क्रममा एम्बुलेन्स प्रेसका गाडि र दुधका गाडिलाई भने निर्वाद रुपमा सञ्चालन गर्न दिएको थियो । बन्द पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले आफुहरुलाई बाइपास गरी जबरजस्ती संविधान जारी गरिएमा जनताले च्यातिदिने बताउँदै अधिकार प्राप्तीको लागि जस्तोसुकै कुर्वानी गर्न पछि नपर्ने बताए यसरी मन्तव्य राख्नेहरुमा एमाओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली, नेकपा-माओवादीका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, जनमुक्ति पार्टिका जिल्ला सहसचिव इन्द्रबहादुर गेलङ, एमाओवादीका जिल्ला सदस्य रामबहादुर रायमाझी लगायत हुनुहुन्थ्यो । बन्द शान्तीपूर्ण रुपमा सफल भएको एमाओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का उज्ज्वलले बताउनु भएको छ । बन्द पछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बन्द सफल पार्न सहयोग पु-याउनु हुने जिल्ला बासीलाई धन्यवाद दिँदै जनताको अधिकार प्राप्तीको निम्ती क्रियाशिल रहिरहने बताउनु भयो ।
बेलुका ४ः०० बजे बन्द खुलेपछि जिल्लाको जनजीवन क्रमिक रुपमा सहज बन्दै गएको छ । बन्द खुल्नासाथ यातायात सञ्चालन हुनुका साथै बजार समेत सुचारु भएको थियो ।