कांग्रेस, एमालेसहितका सत्तारुढ दल तत्काल एमाओवादीसहितका विपक्षी मोर्चासंग बार्तामा नबस्ने

काठमाडौ – कांग्रेस, एमालेसहितका सत्तारुढ दलले तत्काल एमाओवादीसहितका विपक्षी मोर्चासंग बार्तामा नबस्ने निर्णय गरेका छन् । उनीहरुले संविधानसभामा सोमबार राती भएको आक्रमणमा गल्ती स्वीकार गरी माफी नमागेसम्म र संविधानसभामा जारी अवरोध फिर्ता नगरेसम्म वार्ता नगर्ने निर्णय लिएका हुन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणलाई प्रकृयामा लैजान सहमत सवै दलहरु अब साझा रणनीति बनाएर अघि बढ्ने बताए । ‘विपक्षी मोर्चासंग बार्ता हुँदैन । प्रकृयामा नै हामी अघि बढ्छौ, साझा रणनीति बनाएर अघि बढ्छौ’ खनालले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि संविधानसभाको अवरोध हटाएर प्रकृयामा जान सहमत नभएसम्म विपक्षी मोर्चासंग बार्ता हुन नसक्ने बताए । ‘संविधानसभामा आएका सवै राजनीतिक दलका धारणालाई मस्यौदा समितिमा नलैजाँदासम्म वार्तामा बस्नुको कुनै औचित्व देखिएन । मस्यौदा रोकेर अब बार्ता हुन सक्दैन’ उपसभापति पौडेलले भने,’सहमति गर्ने नियत हो भने मस्यौदा समितिमा प्रस्ताव गएपछि पनि वार्ता गर्न सकिन्छ । प्रक्रिया रोकेर वार्ता हुदैन ।’   
कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले संविधानसभामा भएको आक्रमणमा गल्ती स्विकार गरेर माफी नमागेसम्म एमाओवादी नेतृत्वमा रहेको मोर्चासंग बार्ता नगरिने निष्कर्ष कांग्रेस र एमालेले निकालेको बताए । ‘आक्रमण गरेकामा माफी मागेर संविधानसभामा जारी अवरोध नहटाएसम्म बार्ता हुन सक्दैन’ खडकाले भने,’संविधानसभामा उभिने, रोष्टम घेराउ गर्ने घटनालाइ सामान्य रुपमा लिन सकिन्थ्यो, तर संविधानसभाका अध्यक्ष, पार्टीका नेता र मर्यादापालकहरुमाथिको आक्रमण र भौतिक सम्पत्तिको तोडफोड गर्ने कार्यलाई सामान्य मान्न सकिदैन ।’  
 सत्तारुढ कांग्रेस र एमालेसहित संविधान निर्माणलाई प्रक्रियाबाट अघि बढाउन सहमत ८ दल र दुई स्वतन्त्र सभासदको मंगलबार संसदीय दलको सयुक्त बैठक बसी संविधान निर्माणलाई प्रकृयामा लैजाने जोड दिएका छन । उनीहरुले सभाअध्यक्षलाई समेत त्यही किसिमको सुझाव दिएका छन् ।
दुई तिहाईभन्दा बढी सभासद् उपस्थित बैठकले संविधान निर्माण प्रक्रियामा आएका अवरोधलाई हटाउदै एकताका साथ अघि बढ्ने निर्णय लिएको छ । EKANTIPUR