काठमाडौं । एकीकृत माओवादीसहित विपक्षी मोर्चाका सभासदहरुले सोमबार राति संविधानसभा कक्षमा गरेको तोडफोडमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
संविधानसभाको बैठकमा एमाओवादीसहित विपक्षी दलका सभासदले तोडफोड गर्दा क्यामरा, टिभी सेट, टेबल कुर्सी, तारसहित झन्डै ३० लाख बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट आएको छ ।
सो घटनामा भएको क्षतिबारे छानबिन गरी प्रतिवेदन पेश गर्न संविधानसभाका अध्यक्ष सुवास नेवाङले संसदका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदसीय समिति गठन गरेका थिए ।
संविधानसभा नियमावलीको नियम ४६ मा यस्तो तोडफोडमा संलग्नलाई १० दिन निलम्बन गर्ने र क्षति बराबरको बिगो भराउन सकिने व्यवस्था रहेको छ ।
घटनाको समयमा खिचिएका दृश्यहरुबाट दोषीहरु पत्ता लगाउने काम भइरहेको संविधानसभाका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । – IMAGEKHABAR