सत्तारूढ कांग्रेस-एमालेको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पदीय मर्यादाविपरीत उपस्थित

काठमाडौ – सत्तारूढ कांग्रेस-एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पनि उपस्थित भएका छन् । पदीय मर्यादाविपरीत दलीय बैठकमा सभाध्यक्षको उपस्थितिलाई जानकारहरूले अस्वाभाविक मानेका छन् ।
कान्तिपुरमा समाचार छ । एमाओवादी नेतृत्वको मोर्चाद्वारा संविधानसभामा जारी अवरोध हटाउने रणनीति तयार पार्ने सन्दर्भमा परामर्श गर्न सभाध्यक्ष नेम्वाङलाई बालुवाटार बोलाइएको थियो । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओलीलगायत कांग्रेस-एमालेका केही नेता सम्मिलित बैठकमा नेम्वाङ सहभागी भएका थिए । बालुवाटार स्रोतका अनुसार विपक्षी अवरोध कायमै रहेमा सभाध्यक्ष नेम्वाङको सहजीकरणमा प्रश्नावली समितिसम्बन्धी प्रस्ताव राख्न वातावरण बनाउने विषयमा छलफल केन्दि्रत भएको थियो ।