जाजरकोट । जाजरकोटबाट जुम्ला, हुम्ला र मुगु जोड्ने मुख्य बाटो बन्द भएको छ । मङ्सिरमा भएको भारी हिमपातका कारण जाजरकोट, हुम्ला, मुगु र जुम्ला जाने मुख्य बाटो बन्द भएको हो ।
जाजरकोटबाट बारेकोट हुँदै जुम्ला, हुम्ला र मुगु जाने मुख्य बाटोको बीचमा रहेको चाखुरे हिमालमा भारी हिमपातपछि चार महिनाका लागि बाटो बन्द भएको नायकवाडका पृथ्वीविक्रम शाहीले जानकारी दिए ।
जाजरकोट सदरमुकामबाट जुम्ला, हुम्ला र मुगु जान चाखुरे हुँदै गएमा चार दिन मात्र लाग्ने गर्दछ । यो बाटो बन्द भएपछि जुम्ला जान र आउन सुर्खेत हुँदै दैलेख र कालीकोटबाट जुम्ला, हुम्ला र मुगु जाँदा हजाराैं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । यहाँका आर्थिक अवस्था कमजोर भएका स्थानीय मङ्सिर, पुस, माघ र फागुन गरी चार महिनासम्म कतै नजाने गरेको बताउँछन् ।
कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्लालगायतका क्षेत्रमा थोरै खाद्यान्न उत्पादन हुने भएका कारण जाजरकोटको बारेकोट क्षेत्रबाट खच्चड, भेडामा खाद्यान्न ढुवानी गरी दैनिक गुजरा चलाउने गर्दछन् । कर्णालीवासी आफूले उत्पादन गरेको सिमी जाजरकोटको बारेकोट क्षेत्रमा बिक्री गर्दछन् भने सो पैसाले चामल, मकै, गहुँ खरिद गर्ने गरेको जुम्ला टोप्लाका प्रेम शाही बताए ।
बाटो बन्द हुने अवधिसम्म पुग्ने गरी खाद्यान्नको जोहो गरी यहाँका स्थानीय बस्ने गर्दछन् । अन्य जिल्लामा हवाई यातायातको सुविधा भए पनि जाजरकोटमा नहुँदा स्थानीय मर्कामा परेका छन् । रासस