काठमाडौं – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अवरोध संस्कृतिकोरुपमा विकास भए संविधानसभाबाट संविधान जारी हुन नसक्ने बताएका छन् । ईकान्तिपुरमा समाचार छ ।
संविधानसभाले वाचा गरेको माघ ८ मा विपक्षी सभासदको अवरोधले बैठक स्थगित गर्नुअघि आफ्नो धारणा राख्दै सभाध्यक्षले संविधानसभाको गरिमा र मर्यादाको ख्याल गर्न आग्रह गरे । ‘अवरोध संस्कृतिकोरुपमा विकास भए संविधानसभाबाट संविधान नबन्ने प्रष्ट छ,’ उनले भने ।
निरन्तर सहमतिका लागि समय दिए पनि ठोस निष्कर्ष नआएपछि बाध्य भएर प्रक्रिया प्रारम्भ गरेको नेम्वाङको भनाइ थियो । ‘विषय र प्रक्रियामा सहमति नभएपछि प्रक्रिया प्रारम्भ गर्न चाहेको छु । यसबाट निश्चित समयमा संविधान बन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘प्रक्रियामा गए जनताको निराशा पनि आशा र विश्वासमा परिणत हुनेछ ।’
संविधानसभाको विश्व इतिहासमा पहिलोपटक नेपालमा निरन्तर संविधानसभामा अवरोध भएको उनले उल्लेख गरे । अन्तिम घडीमा आपसी सदभाव वृद्धि भई कम्मर कस्नुपर्ने बेला भएको अवरोधले संविधानसभाको गरिमा र मर्यादामा आच पुगेको उनले बताए । ‘म मर्माहित र दुःखी छु,’ उनले भने, ‘जनता र विश्वको सामु गरेको वाचालाई गम्भीर ध्यान दिन जरुरी छ ।’
संविधानसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।