भारतको गणतन्त्र दिवसको मुख्य अतिथिका रुपमा यसपालि अमेरिकी राष्ट्रपति ओबामा भारतमा

भारतको गणतन्त्र दिवसको मुख्य अतिथिका रुपमा यसपालि अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आइपुगेका छन्। आइतबार बिहान इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएका ओबामाको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमै पुगेका थिए।
साधारणतया कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा विदेश राज्यमन्त्री विमानस्थलमा स्वागत गर्न जाने भारतीय प्रचलन छ। तर, यसपालि भने प्रोटोकल तोड्दै ओबामालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेका हुन्।
यसअघि ०६२-०६३को जनआन्दोलनपछि भारत जाँदा तत्कालिन नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लिन समकक्षी मनमोहन सिंह विमानस्थलमा पुगेका थिए। त्यसपछि माधव नेपाललाई स्वागत गर्न विदेश राज्यमन्त्री र त्यसपछिका प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई स्वागत गर्नका लागि परराष्ट्र मन्त्रालयका सिष्टाचार महापाल विमानस्थल पुगेका थिए।
भारतले प्रत्येक वर्ष गणतन्त्र दिवसका बेला विश्वका विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूलाई प्रमुख अतिथिका रुपमा निम्त्याउने गर्छ।
भोलि जानवरी २६मा भारतले ६६अाैं गणतन्त्र दिवस मनाउँदैछ। SETOPATI, AGENCIES