काठमाडौं । संविधानसभाको आइतबारको बैठकमा सभाध्यक्ष सुवास नेम्बाङले प्रश्नावली समिति बनाउन पेश गरेको प्रस्ताव बहुमतबाट पारित भएको छ ।
इमेजखबरमा समाचार छ। एकीकृत माओवादीसहित विपक्षी मोर्चाको नाराबाजी र होहल्लाकैबीच सभाध्यक्ष नेम्वाङले पेश गरेको समिति गठनको प्रस्ताव निर्णयार्थ पेश गर्दा सत्तापक्षीय सभासदहरुले ध्वनी मतले समर्थन गरेका थिए । विपक्षीले भने नाराबाजी र होहल्ला कायमै राखेका थिए ।
सत्ता पक्षका सभासदहरुको समर्थनलगत्तै सभाध्यक्ष नेम्वाङले प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमा भएको सहमति र विमतिका विषयहरु केलाएर प्रस्ताव तयार पार्न ७३ सदस्यीय समिति बनाइएको छ । पाँच दिनको समयावधि पाएको समितिमा अहिले सत्तापक्षका ४९ जनाको नाम उल्लेख गरिएको छ । विपक्षी दलहरुलाई पनि आफ्ना प्रतिनिधिको नाम दिन आह्वान गरिएको छ ।
होहल्लाकै बीच आफूले पेश गरेको प्रस्ताव पारित भएलगत्तै अनिश्चित समयका लागि संविधानसभाको बैठक स्थगित गर्दै अध्यक्ष नेम्बाङले सहमति र संवादका लागि दलहरुलाई फेरि आह्वान गरेका छन् ।
समितिका सदस्य पूर्णबहादुर खड्का, नरहरि आचार्य, अग्नि खरेल, गगन थापा, पदमनारायण चौधरी, प्रकाश ज्वाला, धनराज गुरुङ, गंगालाल तुलाधार, अब्दुल रज्जाकलगायत ४९ जना रहेका छन् ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले माघ ५ गते यही प्रस्ताव पेश गर्न खोज्दा विपक्षी एकीकृत माओवादीसहितका दलहरुले संविधानसभा कक्षमै तोडफोड गरेका थिए । त्यसपछिका बैठकहरु पनि विपक्षीको नाराबाजीकै कारण अवरुद्ध बनेको थियो ।
विपक्षी दलका नेता पुष्पकमल दाहालले प्रस्ताव अस्वीकार गर्दै जनतामा जाने घोषणा गरेका छन् । आफ्नो रणनीति तय गर्न अहिले सिंहदरबारमा विपक्षी मोर्चाको बैठक बसिरहेको छ ।