लिबियाको राजधानी त्रिपोलीस्थित एक होटलमा उग्रवादीहरुले गरेको आक्रमणमा पाँच विदेशी सहित कम्तिमा नौ जना मारिएका छन् ।
अधिकारीहरुका अनुसार मारिनेमा एक अमेरिकी र एक फ्रान्सेली नागरिक रहेका छन् भने बाँकी मृतकको पहिचान खुलाईएको छैन ।
ठूलो संख्यामा आएका बन्दुकधारीहरुले त्रिपोलीस्थित कोरिन्थिया होटलभित्र प्रवेश गरी अन्धाधुन्धा गोली चलाएका थिए ।
साथै उक्त होटल परिसरमा एक कार बम पनि विष्फोट गराइएको थियो । केही आक्रमणकारीहरुले आफैलाई विष्फोट गराएको बताइए पनि उक्त खबरको पुष्टि हुन सकेको छैन ।
सुरक्षा बलले अहिले स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
अमेरिकी सरकारले समेत उक्त घटनामा आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेपनि विस्तृत विवरण भने दिएको छैन ।
मृत्यु भएका अमेरिकी नागरिक सुरक्षा सम्बन्धी ठेकेदार रहेको हुन सक्ने आशंका गरिएको छ ।
यसैबीच, इस्लामिक स्टेटले आफ्नो आधिकारिक ट्वीटर अकाउण्ट मार्फत उक्त घटनाको जिम्मेवारी लिएको छ ।
AGENCIES