आईएसको कब्जामा रहेका जोर्डनी पाइलटलाई जिउँदै जलाएर हत्या

ईस्लामिक अतिवादी संगठन आईएसले उसको कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गरेको छ ।
कसासबेहलाई जिउँदै जलाएको भिडियो इन्टरनेटमार्फत् सार्वजनिक गरिएको हो । कससाबेहको हत्या गरिएको कुरालाई जोर्डनले पनि पुष्टि गरेको छ ।
कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो लगाइएको भिडियोमा देखिएको छ ।
आइएसविरुद्धको मिसनमा सहभागी पाइलट कसासबेहले चलाएको विमान गत डिसेम्बरमा सिरियाको राक्का क्षेत्रमा खसेपछि आइएसले उनलाई कब्जामा लिएको थियो ।
जोर्डनले उनलाई छुटाउन ठूलो पहल गरेपनि सफल भएन । कसासबेहको हत्याको खबरलगत्तै जोर्डनी राजा अब्दुल्लाले आफ्नो अमेरिकी यात्रालाई बीचमै रोकेर देश फर्किएका छन् ।
उनले देशवासीलाई एकजुट रहन पनि अपील गर्नुभएको छ । पाइलटको हत्याप्रति विश्वभरबाट निन्दा गरिएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले घटनाको निन्दा गर्दै आतिवाद रोक्नका लागि विश्वका सबै एकजुट हुनुपर्ने बताए । (स्रोतः एजेन्सी)