वीरेन्द्र केसी
किमडाँडा, अर्घाखाँची – सीप सिकेर काममा लागे घरमै बसेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण यहाँका केही महिलाले देखाएका छन्। ढाका बुनाइबाट राम्रो आम्दानी गर्न सफल उनीहरू उद्यमी बनेर आत्मनिर्भर बनेका छन्।
किमडाँडाका ५० भन्दा बढी महिलाको अहिले मुख्य काम भनेकै ढाका बुनेर आम्दानी गर्नु हो। ढाका बुनाइ सुन्दा सामान्य जस्तो लाग्थ्यो, व्यवसायी मीना केसीले भनिन्, यसमा नसोचेको पैसा रहेछ। उनले ढाका बुन्न थालेपछि हातमा कहिल्यै पैसा नटुटेको बताइन्।
महिलाहरूले ढाकाबाट टोपी, झोला, सल, मफलर, स्टकोट चोलो, मायाको चिनोलगायतका सामान बनाउने गर्छन्। यी उत्पादन गाउँमै बिक्री हुन्छ। स्थानीय लालीगुराँस महिला तथा विकास समूहले आफ्ना सदस्यलाई ढाका बुनाइमा लगाएपछि महिला आत्मनिर्भर भएका हुन्।
पाँच दिनमा एउटा ढाकाको कपडा तयार हुन्छ। त्यो एक हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ। त्यसबाट पाँच सय रुपैयाँ नाफा हुने केसीले बताइन्। घरको कामबाट समय निकालेर ढाका बुनाइमा लागेर उनले महिनामा सात हजार रुपैयाँसम्म कमाइ गर्छिन्। कमाइ हुन थालेपछि २/४ रुपैयाँका लागि श्रीमान्सँग हात थाप्नु नपरेको उनको भनाइ छ। घरमा मेसिन राखेर तयार पारेका विभिन्न प्रकारका कपडा बजारबाट ग्राहक किन्न आउने गरेको समूहकी अध्यक्ष जानुका बन्जाडेले बताइन्।
उनका अनुसार बुट्टा भरेको आकर्षक देखिने ढाकाका कपडा लामो समय टिक्ने भएकाले माग बढ्दो छ। गाउँमा ५० भन्दा बढी महिला व्यावसायिक रूपमा यही व्यवसायमा लागेका छन्। समूहले गाउँमा बिक्री कक्ष पनि सञ्चालन गरेको छ। यसमा १२ महिला दिनभर ढाका बुन्छन्। महिना पुगेपछि पैसा बुझ्छन्।
महिला विकास कार्यालयले तालिम र प्राविधिक सहयोग गरेको छ। गाउँमा सिकेको सीपलाई बजारसम्म लैजाने सोच छ, स्थानीय गीता बन्जाडेले भनिन्, माग बढेकाले उत्साह जागेको छ। अहिले महिनामा १० हजार कमाइ गरेकी छु। चाँडै बजारमा गएर ढाकाको उद्योग खोल्ने सोचमा छु। आफ्नो हातमा सीप भएपछि श्रीमान्ले कहिले कमाएर पैसा ल्याउलान् र छाक टारौंला भन्ने समस्या हटेको उनले बताइन्।
विमला केसीले हातले बुनेका कपडाले जीवन परिवर्तन गरिदिएको र यसलाई निरन्तरता दिने बताइन्।
महिलाले पनि श्रम, सीपबाट पैसा कमाउन सक्छन् भन्ने उदाहरण रहेको उनको भनाइ थियो। घरमा दुईजनाले पैसा कमाउने भएपछि श्रीमान्-श्रीमतीको झगडामा कमी आएको छ। किमडाँडासहित खिदिम, पोखराथोक, ठाडा खिल्जीमा समेत सहकारी समूहमार्फत ढाका बुनाइमा महिलाहरू आकषिर्त भएको महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बताइन्।