सुनसरीको सदरमुकाम इनरुवा-७ स्थित सियाराम यादवको घरमा शुक्रबार तीनजनाको मानव कङ्काल फेला परेको छ । हत्या गरेर गाडिएको अवस्थामा यादवको घरको छेउमा तीनजनाको कङ्काल फेला परेको हो ।
सप्तरीको जंडौलका ५० वर्षीय इद्रिस नट मियाँ, उहाँकी श्रीमती ४५ वर्षीया जैतुन खातुन र छोरी १७ वर्षीया सेरुन खातुनको हत्या गरेर गाडिएको अवस्थामा कङ्काल फेला परेको हो ।
नटका छोरी ज्वाइँ सकिल अन्सारीले केही सहयोगीलाई ल्याएर इनरुवाका सियाराम यादवको घरमा डेरामा बस्दै आएको अवस्थामा पाँच कट्ठा जग्गाको विषयमा विवाद भएपछि मार्ने र गाड्ने धम्की दिएको केही समयपछि तीनै जना एकाएक बेपत्ता भएको र खोज्दै जाँदा शुक्रबार कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अहिले कङ्काल फेला परेका तीनै जना २०७० साल पुसको दोस्रो सातादेखि बेपत्ता भएको मृतककी माइली छोरी सैरु खातुनले बताइन्। रासस