प्रमुख राजनीतिक दलका नेताहरू अझै वार्तामा बस्न सकेनन्

काठमाडौ, फाल्गुन ५ – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको संवादले राजनीतिक गतिरोध फुकाउने दिशामा सकारात्मक असर छाडे पनि सहमतिमै संविधानका अन्तरवस्तु टुंग्याउन प्रमुख राजनीतिक दलका नेताहरू अझै वार्तामा बस्न सकेका छैनन् ।
कान्तिपुरमा समाचार छ। एमाओवादी र मधेस केन्दि्रत दलसहितको विपक्षी मोर्चाले वार्तामा आउन सत्तापक्षले सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धतासहितको वक्तव्य दिनुपर्ने र बहुमतीय प्रक्रिया स्थगन हुनुपर्ने माग राख्दै आएको थियो । ती दुवै माग पूरा भइसक्दा पनि वार्तामा नआउनुलाई सत्तापक्षले आशंकाको दृष्टिले हेरेको छ भने प्रतिपक्षले वार्ताका लागि थप प्रतिबद्धता आउनुपर्ने बताएको छ । विपक्षी मोर्चाको मागअनुसार प्रधानमन्त्री कोइरालाले पुस २५ गते वक्तव्य मार्फत ‘शान्तिप्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रपक्रयामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गरौं’ भन्ने सन्देशसहित अपिल गरेका थिए ।
त्यसपछि एमाओवादी अध्यक्ष दाहालकै अनौपचारिक आग्रहमा सभाअध्यक्ष
सुवास नेम्वाङले पुस २९ गते संविधानसभाको बैठक अनश्चितकालका लागि रोकेका छन् ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले आफूहरूले देखावटीभन्दा सार्थक वार्ता चाहेको बताएका छन् । ‘सार्थक वार्ता गरौं भन्ने हाम्रो कुरा हो । देखावटी वार्ताले कुनै काम गर्दैन,’ महराले भने, ‘अनौपचारिक वार्ताबाट सहमति निकालौं भन्ने हाम्रो जोड हो । तर, अनौपचारिक वार्ता पनि फलदायी हुन सकेको छैन ।’ कोइराला र दाहालबीच शनिबारको भेटवार्तापछि राजनीतिक तहमा औपचारिक/अनौपचारिक कुनै वार्ता भएको छैन । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का संविधानसभाको जारी प्रक्रिया अनिश्चितकालका लागि रोक्दा पनि वार्ता सुरु नभएमा नकारात्मक सन्देश जाने बताउँछन् । ‘विपक्षी मोर्चाको आग्रहमा प्रधानमन्त्रीले वक्तव्यमार्फत वार्तामा आउन अपिल गर्नुभयो । संविधानसभाको बैठक नतोकी स्थगित गरेमा विश्वासिलो वातवरण बन्छ भन्ने आग्रहमा प्रक्रिया रोकियो,’ उनले भने, ‘अब पनि वार्तामा नबस्ने हो भने विपक्षी मोर्चाले वार्ता नै नचाहेको हो कि भन्ने आशंका बढाउँछ ।’
बालुवाटार स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले फागुन १६ पछि मात्रै वार्तामा बस्न सकिने सन्देश दिएका छन् । ‘विपक्षी मोर्चा १६ गतेको कार्यक्रमका लागि केन्दि्रत भएका छन् । एमाले पनि आफ्नो पार्टी बैठकमा व्यस्त छ । कांग्रेसले पनि ६ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ’ प्रधानमन्त्री कोइराला निकट एक मन्त्रीले भने, ‘पार्टीहरूको आ-आफ्नो बैठक र कार्यक्रम सकेर मात्रै सार्थक वार्ता सुरु हुने देखिन्छ ।’ एमालेको पार्टी बैठकका कारण कांग्रेस र एमालेबीच पनि दुई दिनदेखि बैठक हुन सकेको छैन ।
कांग्रेस सहमहामन्त्री खड्का चाहिँ विपक्षीको विरोध सभा, कांग्रेस र एमालेको पार्टी बैठकले वार्ता रोकिन नसक्ने बताउँछन् । ‘प्रधानमन्त्री र सत्तापक्षका अरू नेताहरूले आन्दोलन रोकेर वार्तामा आउनुपर्छ भनी सर्त राखेको अवस्था
छैन । संविधानसभाको पक्रिया रोकेर वार्ताका लागि मार्ग प्रशस्त गरेपछि कस्तो सन्देश जान्छ भन्ने कुरा प्रचण्ड र विपक्षी मोर्चाले सोच्नुपर्छ’
उनले भने, ‘वार्तामा आउन अप्ठ्यारो मान्नुपर्ने कुनै अवस्था अब विद्यमान छैन । आन्दोलनको तयारी गर्दागर्दै पनि वार्तामा बस्न मिल्छ ।’ कान्तिपुरमा समाचार छ।