इराकको अल-बगदादी क्षेत्रमा इस्लामिक स्टेट (आइएस)का अतिवादीहरुले ४५ जनालाई जिउँदै जलाएर हत्या गरेका छन् । मारिनेहरु को थिए र किन हत्या गरिएको भन्ने केही नखुलेको त्यहाँको प्रहरीले जनाएको छ ।
कर्णेल काासिम अल-ओबेदीले भने हत्या गरिएकामा कतिपय सुरक्षाकर्मी पनि हुनसक्ने आशंका गरेका छन् । सुरक्षकर्मी र स्थानीय अधिकारीहरुको परिवार रहने क्षेत्रमा उक्त घटना भएको बताइएको छ ।
आइएस लडाकूहरुले गत हप्तामात्र उक्त क्षेत्रको धेरै स्थान आफ्नो कब्जामा लिएका थिए ।
उता, नाइजेरियामा चुनाव अगाडि कतिपय क्षेत्रमा लगातार गराइएको बम विस्फोटमा ४० जना मारिएका छन् । पूर्वोत्तर सहर बियूमा सेनाको चेकपोस्टमा गरिएको विस्फोटमा ३६ जना मारिएका हुन् भने योबे राज्यस्थित रेस्टुराँमा गराइएको विस्फोटमा तीनजना मारिएका छन् भने १२ जना घाइते भएका छन् ।
विपक्षी पार्टी एपीसीको र्याली हुँदै गर्दा घटना भएको खबर छ । हिंसाकै कारण त्यहाँको निर्वाचन २८ मार्चका लागि सारिएको छ । (एजेन्सी)