फागुन ७ गते । एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई लोकतन्त्र स्थापना भएको दिन

काठमाडौं । आज फागुन ७ गते । २००७ सालको यही दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा लोकतन्त्र स्थापना भएको दिन भव्यतापूर्वक मनाइदै छ ।
इमेजखबरमा समाचार छ । ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस धुमधामले मनाउन सरकारले फागुन ६ गतेदेखि ८ गतेसम्म ३ दिन विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रजातन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिदैछ भने भोलि परिसम्वाद, चित्रकला लगायतका कार्यक्रम आयोजना गरिने छ ।
सरकारले प्रजातन्त्र दिवसका दिन आज सार्वजनिक बिदा दिएको छ ।
बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा हरेक बर्ष यो दिवस मनाउने गरिन्छ ।
पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई आजकै दिन जहानियाँ राणाशासनबाट मुक्त गराएका थिए ।
यसक्रममा विक्रम सम्वत् १९९७ सालमा चार जनालाई तात्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।
प्रजातन्त्रप्राप्तिको २००७ सालको लडाईमा मूख्य गरी नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको थियो ।
नेपाली समाजमा सामाजिक र राजनीतिक चेतना फैलाउन प्रजा परिषदले शुरु गरेको अभियानमा क्रान्तिको नेतृत्व भने नेपाली कांग्रेसले गरेको थियो ।
प्रजातन्त्रको विहानी ल्याउने उक्त क्रान्तिमा, राणाहरुको खोपीमा बन्दीसरह राखिएका राजा त्रिभुवनले पनि साथ दिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो । कांग्रेसको आह्वानमा भएको सो क्रान्तिमा नेपाल कम्युनिष्ट पार्टीसहितका दलहरुको पनि साथ र सहयोग गरेका थिए ।
फलस्वरुप पहिलो पटक जनताको छोराले देशको राजनीति सञ्चालन गर्ने अवसर पाए । ६४ वर्षको यो दौरानमा मुलुकले थुप्रै घुम्ती र मोडहरु पार गरिसकेको छ ।
जनतासँग मिलेर ल्याएको प्रजातन्त्रको मान्यताभित्र बस्न नचाहँदा अहिले त देशबाट राजसंस्थाको अन्त्य नै भैसकेको छ ।
२०६२/०६३ मा भएको आन्दोलनको फलस्वरुप देशमा अहिले गणतन्त्र त आएको छ तर गणतन्त्रको आधारभूत मूल्य र मान्यतामा दलहरु टिक्न नसक्दा देश नराम्ररी संक्रमणको जंजालमा फसेको छ ।  इमेजखबरमा समाचार छ ।