भारतको विहार राज्यका मुख्यमन्त्री जीतनराम माझीद्धारा पदबाट राजीनामा

भारतको विहार राज्यका मुख्यमन्त्री जीतनराम माझीले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
जनता दल युनाइटेड (जेडीयू)बाट मुख्यमन्त्री बनेका माझीलाई केही दिनअघिमात्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । माझीको राजीनामा संसदमा उनीविरुद्ध विश्वासको प्रस्ताव पेश गरिनु केहीअघि मात्र आएको हो ।
यसअघि विहारका मुख्यमन्त्री बनेका नितिश कुमारको जस्तो आर्थिक बृद्धि गर्न नसकेको र भारतीय जनता पार्टीको योजनामा चलेको भन्दै पार्टीले राजीनामा दिन भनेको थियो । तर, पार्टी निर्देशनको अवज्ञा गर्दै माझीले आफूसँग पूर्णबहुमत रहेको र सदनमा विश्वासको मत पाउने बताएका थिए । त्यसका लागि गोप्य मतदान गराउनुपर्ने माझीको शर्त थियो ।
गोप्य मतदान गर्ने व्यवस्था नगरेकाले आफ्ना सांसदहरुको सुरक्षाका लागि पनि आफूले राजीनामा दिएको तर्क उनले गरेका छन् ।
राजीनामालगत्तै पत्रकार सम्मेलन गर्दै माझीले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै पूर्वमुख्यमन्त्री एवं जेडीयू नेता नीतिश कुमारको आलोचना गरेका छन् ।
विहारमा अब नीतिश कुमारले सरकार बनाउन मौका पाउने वा राष्ट्रपति शासन लाग्ने भन्ने निर्णय भने राज्यपालको हातमा पुगेको छ । माझी गत वर्षको मे महिनामा विहारको मुख्यमन्त्री बनेका थिए । (एजेन्सी)