बारा । बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा उपलब्ध गराउने सरकारी निर्णय उल्टिएको विरोधमा भइरहेको आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले विभिन्न ठाउंमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासनले आज विहान ६ बजेदेखि लागु हुने गरी बाराको धन्सार खोला पुलदेखि पथलैया हुंदै उत्तरी सिमाको चुरेमाईसम्मको २ सय मिटर दांयां वायां र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुर सडकखण्डको दायां बाया २ सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
आन्दोलन झनै चर्किएपछि निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको प्रशासनले जनाएको छ ।
निषेधित क्षेत्र घोषणा गरेसंगै थप आक्रोशित बनेका प्रदर्शनकारीहरु आज नवौ दिन पनि आन्दोलन जारी राख्दै निषेधित क्षेत्र तोड्ने प्रयत्न गरिरहेका छन् ।
प्रहरीसँग झडपमा उत्रेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेको छ ।
प्रहरीले आन्दोलनकारी घुसेको भन्दै सिमरामा रहेको रेडियो नागरिक ९०.८ मा छिरेर तोडफोड गरेको बताइएको छ ।
राजनीतिक दलको अगुवाईमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघसंस्थाले पनि साथ दिएका छन् ।
सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय खारेज गरेको जनाएपछि विरोध चर्किएको हो ।
यसअघि सेवा केन्द्र सिमरामा बिस्तार गर्ने सरकारी निर्णयविरुद्ध कलैयामा पनि आन्दोलन भएको थियो । इमेजखबरमा समाचार छ।