चितवनमा सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै अनिश्चितकालिन व्यवसाय बन्द

 चितवन । चितवनमा सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गराएका छन् ।
संघले आजबाट मुङ्गलीनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकाल सम्मको लागि बन्द गरेको हो ।
जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यका ेविरुद्वमा आन्दोलनमा उत्रनु परेको संघका अध्यक्ष डासीराम ढकालले बताए ।
सुरक्षित वातावरण नबनेसम्म आफूहरु व्यवसाय नगर्ने ढकालको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि वेवास्ता गरि जबरजस्ती ग्राहकहरुलाई हिरासतमा लैजाने कार्य निन्दनीय भएको बताए  ।
प्रहरीले गत शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ५० भन्दा बढिलाई पक्राउ गरेकै विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
यता, व्यवसायीको आन्दोलनबाट भने सर्वसाधारणहरु मर्कामा परेका छन् । इमेजखबरमा समाचार छ ।