काठमाडौं – एमाले युवा संघले एमाओवादी लडाकुको नाममा राज्यबाट लिएको रकम दुरुपयोग गरेको उजुरीमा छानबिन नगरेको भन्दै अख्तियारलाई दबाब दिने भएको छ ।
संघको केन्द्रीय कमिटी बैठकले लडाकु रकम अनियमितताविरुद्ध घेराउ तथा दबाबका कार्यक्रम सार्वजनिक गरेको महासचिव राजीव पहारीले जानकारी दिए । उनले लडाकुको नाममा भएको अनियमितताविरुद्ध अख्तियार घेराउ गर्ने कार्यक्रम राखिएको बताए ।
बैठकका निर्णय सार्वजनिक गर्न बुधबार नै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष निरु पालले अख्तियारको लडाकु अनियमततामा चासो नदेखाएको भन्दै असन्तुष्टि राखिन् । ‘अख्तियारले १० हजार घूस लिनेहरुलाई समातिरहेको छ,’ उनले भने, ‘लडाकुको नाममा ४ अर्ब भन्दा बढी घोटाला भएको छानबिन गर्नुपर्दैन ?’
युवा संघका तत्कालिन अध्यक्ष महेश बस्नेतको नेतृत्वमा युवा संघले अख्तियार कार्यालयमै पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित चार नेताले लडाकु रकम दुरुपयोग गरेको भन्दै उजुरी दिएका थिए । अख्तियार प्रमुख लोकमान सिंह कार्कीले लडाकु रकम अनियमितताबारे छानबिन भइरहेको विभिन्न कार्यक्रममा बताउने गरेका छन् ।
युवा संघले वैदेशिक रोजगारीमा जाने युवाहरुबाट उठाइने शुल्कमा भएको अनियमितता र सरकारी निकायबाट भएको ढिलासुस्तीबारे पनि अभियान चलाउने निर्णय गरेको छ ।
बैठकले आगामी चैत ७ र ८ गते हेटौंडामा राष्ट्रिय युवा परिषदको बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव पहारीले जानकारी दिए ।
बैठकले संगठनविरुद्ध समानान्तर बैठक आयोजना गर्ने नेताहरुलाई कारबाहीको तयारी गरेको छ । असन्तुष्ट समूहले नयाँ बानेश्वरको एक होटलमा समानान्तर बैठक गर्दै मूल नेतृत्वलाई चुनौति दिएको थियो ।
बैठकले उपाध्यक्ष दिलकुमारी पन्त, सचिवहरु अशोक चन्द, नरेश शाही, हस्त शाही, मञ्जु यादवलगायतले विधि, प्रक्रिया र पद्धति मिचेको आरोप लगाउँदै उनीहरुलाई कारबाही गर्न स्थायी कमिटीलाई अधिकार दिने निर्णय गरेको छ । कारबाही सिफारिसका लागि उपाध्यक्ष सूर्य ढकाल, महासचिव राजीव पहारी र सचिव किरण पौडेल रहेको समिति निर्माण गरिएको छ ।
– EKANTIPUR