अर्घाखाँचीमा फागुन २३, २४ र २५ गते हात्तिपाइले औषधि खुवाइने, औषधि ढुक्कसँग प्रयोग गर्न चिकित्सकको सुझाव

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लामा फागुन २३, २४ र २५ गते हात्तिपाइले ( फाइलेरिया) रोग विरुद्धको औषधि खुवाइने भएको छ । ०६६ सालबाट सरु भएको हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने  कार्यक्रम छैठौं चरणमा गएर यो वर्षबाट सकिदै छ ।
चिकित्सकहरुले हात्तिपाइले राग विरुद्धको औषधि ढुक्कसँग सेवन गर्न आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा गर्ने यो रोग निकै जटिल भएकाले औषधि सेवन गर्न मिल्ने सबैलाई सेवन गर्न आग्रह गरेका हुन । जुनसुकै उमेर समुहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । चिकित्सकहरुले लाम खुट्टेको टोकाइबाट जोगिन नसके यो रोग लाग्ने संभावना बढि हुने बताउँछन ।
 जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगन्नाथ तिवारीले हात्तिपाइले रोगका बारेमा  केहि भ्रमहरु हुँदा सबैले औषधि सेवन नगरेको बताए । हात्ति पाइले रोग विरुद्धको औषधि दुइवर्ष नपुगेका बालबच्चा, गर्भवती आमाहरु, ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घरोगी, २४ घण्टा भित्रमा ज्वारो आएको व्यक्ति, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबच्चाहरु र छारे रोगका बिरामीले सेवन गर्न नहुने उनले बताए । उनले अन्य व्यक्तिले भने ढुक्क भएर सेवन गर्दा हुने बताए ।
 हात्ति पाइले रोग विरुद्ध दुइओटा औषधि खुवाइने गरिन्छ । डाइईथाइलकार्बामाजिन  (डी ई सी) र अलवेन्डाजोल चक्की हात्तिपाइले विरुद्धका औषधि हुन । औषधि सेवन गर्दा टाउको, पेट दुख्ने, पखाला लाग्ने भएपनि आत्तिन नपर्ने चिकित्सक बताउँछनु । हात्तिपाइको परजिवि भएकाहरमा परजिविको मृत्यु हुँदा कसैकसैलाई ज्वरो आए जस्तो हुने, टाउको पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्ष्ण देखा पर्छन जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका मेडिकल अधिकृत डा नविन दर्नाले भने, यस्तो अवस्था आयो भने शरिरमा परजिवि नष्ट हुँदैछ भन्ने बुझ्नु पर्दछ । उनले एक दुइ दिन सम्म केहि असर देखिए पनि तुरुन्त निको भएर जाने बताए । 
अहिले सम्म जिल्लामा हात्तिपाइलेका बिरामी फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गणेश पौडेलले बताए । गत वर्ष ७ जना हाइड्रोसिलका बिरामी फेला परेका थिए उनले भने, हात्तिपाइलेका कारणले हो वा अन्य कारणले हो थाहा भएन । उनले गत वर्ष ८३ प्रतिशतले औषधि सेवन गरेको भएपनि अहिले त्यस भन्दा धेरैले सेवन गर्ने अनुमान लिएको बताए । 

अन्य समाचारहरु