प्रधानमन्त्री सुशील कोइरालाद्धारा संविधान निर्माणपछि स्वतः सत्ता छाड्ने भन्दै आफ्नो राजीनामा नमाग्न आग्रह

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणपछि स्वतः सत्ता छाड्ने भन्दै आफ्नो राजीनामा नमाग्न आग्रह गरेका छन् ।
इमेजखबरमा समाचार छ । बुधबार राजधानीमा महेन्द्रनारायण निधिको ९४औं जन्मजयन्तीको अवसरमा भएको कार्यक्रममा उनले पार्टीभित्रैबाट राजीनामाको माग भएकोतर्फ संकेत गर्दै अहिले नै राजीनामाको कुरा नगर्न आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीपछि आफूलाई केही पनि बन्ने मोह नभएको उल्लेख गर्दै संविधान लेखनमा गम्भीर हुन सबैलाई आग्रह गरे । संविधान निर्माणपछि आफूले स्वतः सत्ता छाड्ने भन्दै उनले अहिलेका लागि संविधान निर्माण नै सबैको मुख्य दायित्व भएको बताए ।
प्रधानमन्त्री कोइरालाले सहमतिका नाममा आत्मसमर्पण गर्न नसकिने स्पष्ट पार्दै सबैले जित्ने गरी लेनदेनमा आधारित भएर सहमति गराइ छाड्ने दाबी गरे ।
लोकतान्त्रिक मूल्य मान्यतामा कसैसँग सम्झौता नगर्ने भन्दै उनले सहमतिका लागि आफू हदैसम्म लचक हुन तयार रहेको समेत बताए ।
कार्यक्रममा अहिंसा शान्ति, सामाजिक न्याय, सद्भाव र लोकतन्त्रका लागि पुर्‍यााएको योगदानको कदर गर्दै ढुण्डिराज शास्त्री र भीमराज नौलखालाई महेन्द्रनारायण निधि पुरस्कारबाट सम्मानित गरिएको थियो । पुरस्कारको राशी जनही ५१ हजार ५ सय १ रुपैयाँ रहेको छ ।
यस्तै, प्रेमसागरी निधि पुरस्कारबाट मीना खरेल र इन्दिरा सापकोटालाई जनही २५ हजार ५ सय १ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । इमेजखबरमा समाचार छ ।