नेपालमा स्वाइन फ्लुबाट संक्रमित हुनेको संख्या तीव्र बढ्यो

काठमाडौं  । नेपालमा स्वाइन फ्लुबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार अहिलेसम्म १३ जनामा स्वाइन फ्लुको भाइरस भेटिएको छ ।
संक्रमितको संख्या बढेपनि रोकथामका लागि सरकारले गरेको पहल पर्याप्त बन्न सकेको छैन । स्वाइन फ्लु प्रतिरोधात्मक औषधि सरकारसँग १० हजार मात्र रहेको छ ।
बजेट अभावमा थप औषधिको व्यवस्था गर्न नसकिएको भन्दै औषधि थप गर्नका लागि बजेट मागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए ।
स्वाइन फ्लु भेटिए ५ दिनसम्म औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । सरकारले सरकारी तथा निजी अस्पतालहरुमा निःशुल्क स्वाइन फ्लुको चेकजाँच तथा औषधिको व्यवस्था मिलाएको छ ।
नाक बन्द हुने, पातलो सिँगान बगिरहने, हाच्छयूँ आउने, खोकी लाग्ने, थकाइ महशुस हुने, खान मन नलाग्ने, घाँटी दुख्ने कडा ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने स्वाइन फ्लुका लक्षण हुन् ।
सधैं मास्क लगाएर हिँड्डुल गरेमा वा कुनै लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीलाई देखाए स्वाइन फ्लुबाट बच्न सकिने चिकित्सकको सुझाब छ । इमेजखबरमा समाचार छ ।