बंगलादेशमा एक अमेरिकी ब्लगरको हत्या भएको छ ।
राजधानी ढाकामा अज्ञात समूहको चक्कु प्रहारबाट अभिजित रोयको मृत्यु भएको हो । आक्रमणमा उनकी श्रीमती रफिदा अहमत गम्भीर घाइते भएकी छन् ।
ढाका विश्वविद्यालयमा भइरहेको पुस्तक मेलामा श्रीमतीका साथ जाँदै गरेको अवस्थामा रोयमाथि आक्रमण भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्यामा धार्मिक अतिवादी संगठनको हात रहेको अनुमान गरेको छ ।
धर्म निरपेक्षताको विषयमा लेख्दै आएका रोयले धामिर्क कट्टरपन्थीहरुको विरोध गर्दै आएका थिए । यसअघि सन् २०१३ मा इस्लामिक विद्रोहीले अर्का ब्लगर अहमद रजिब हैदरको पनि हत्या गरेका थिए । (एजेन्सी)