शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि अर्घाखाँचीका कृषक तरकारी खेतीप्रति आकषिर्त हुन थालेका छन् । कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
तरकारी खेतीबाट वाषिर्क ५० हजार देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको स्थानीय कृषकहरु बताउँछन् । ५ वर्ष यता जिल्लाको सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँ गाउँमा व्यवसायीकरुपमा तरकारी खेती गरिदै आएको छ ।
३-४ वर्ष पहिलेसम्म बाहिरी जिल्लाबाट प्रत्येक दिन ट्रकका ट्रक तरकारी आयात गरिने यस जिल्लाबाट १-२ वर्ष यता विक्रिका लागि तरकारी तम्घास, पाल्पा, बुटबल र कृष्णनगर समेत पठाउने गरिएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि जिल्लाका युवाहरुको पनि तरकारी खेतीप्रति आकर्षण बढेको छ । बेरोजगार युबाहरुमात्र होईन सरकारी जागीर, शिक्षण पेशा र बैदेशिक रोजगारमा गएकाहरु पनी आफ्नो पेशा छोडेर तरकारी खेतीमा लागेका छन् ।
सन्धिखर्कको घोचेखोलाका कृषक गणेश बन्जाडे जिल्लाका अग्रज कृषक मध्येका एक हुन । उनले ११ रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । सरकारी जागिर छोडेर दुइ दशक देखि व्यवसायिक तरकारी खेती गर्दै आएका उनले तरकारीबाट वाषिर्क ५ लाख भन्दा बढी आम्दानी गर्ने बताए । बन्जाडेको प्रभावबाट घोचेखोलाका डेड दर्जन भन्दा बढी कृषकहरुले व्यावसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा पानी लाग्ने खेत र बारीमा मात्र नभई भिरालो जमिनमा र सीमित पिउने पानीलाई समेत सदुपयोग गरेर पनि कृषकहरुले तरकारी खेती गर्दै आएका छन् ।
नरपानी जगतका गुणानिधी न्यौपाने युवा कृषक हुन् । उनले भिरालो र बाँझोखेत जमिनमा पनि तरकारी फलाउन सकिन्छ भन्ने उदाहरण बनेर देखाएका छन् । आफ्ना साथीहरु सरकारी जागिर र वैदेशिक रोजगारीमा तेस्रो मुलुकहरुमा गएको बताउने उनले साथीहरुको भन्दा आफ्नो राम्रो प्रगति भएको बताए । तरकारी खेतीबाट महिनामा २५ हजार रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।
नरपानी गाविसको वार्ड नंं. ५ र ६ का गरी ८५ परिवार कृषकहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् । अर्घाखाँचीमा ४२ वटै गाविसका वार्ड-वार्डमा सडक सुविधा पुगेकाले जिल्लाको जुनसुकै ठाउमा बसेर खेती गरेपनि उत्पादन गरेको तरकारी बजार सम्म पुर्याउन सकिने भएकाले पछिल्ला बर्षहरुमा तरकारी खेती गर्ने कृषकको संख्यामा वृद्धि हुदै गएको छ ।
जिल्लामा १ सय भन्दा बढी प्लाष्टिकका टनेलहरु निर्माण गरिएको छ । प्लाष्टिक टनेलमा गोलभेँडा खेती गरिने भएकाले बाह्रै महिना गोलभेंडा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सिंचाईको सुविधा नभएको ठाउँमा कृषकहरुले प्लाष्टिक पोखरी बनाएका छन् । वर्षादको पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर हिउँद मा तरकारी खेती गरिने कृषकहरुको भनाइ छ । कतिपय कृषकहरुले त प्लाष्टिक पोखरीमा माछा समेत पाल्ने गरेका छन् । किमडाँडा १ किमडांडाका कृषक पुष्कर बन्जाडेले तरकारी खेतीबाट बाषिर्क ५ लाख भन्दा बढी आम्दानी गर्ने बताउछन् । उनले पाखो बारीमा तरकारी खेती गर्दै आएका छन् । २ वटा प्लाष्टिक पोखरीमा पानी संकलन गरेर तरकारी खेती गर्दै आएको उनको भनाइ छ ।
सन्धिखर्क, किमडाँडा, खाँचीकोट, नरपानी, ढिकुरा, नुवाकोट र धनचाैंरका कृषकहरुले गोठको पछाडी खाडल बनाएर गहुँत संकलन गर्दै आएका छन् । एक भाग गहुँतमा ४-५ भाग पानीको मात्रा मिसाएर तरकारी खेती गर्दा तरकारी बालिले सबै किसिमका पौष्टिक तत्त्व पाउँदा वाली सप्रने भएकाले बढी आम्दानी हुने गरेको घोंचेखोलाका महिला कृषक जानका बन्जाडेले बताइन् । बन्जाडेले प्रत्येक दिन २ सय ५० लिटर जति गहुँत जम्मा हुने भएकाले रासायनिक मलमा करिब ९० प्रतिशत कटौती गरेको बताउँछिन् ।
तरकारी खेतीबाट मनग्य आम्दानी लिएपछि अहिले जिल्लाका कृषकहरुको दिनचर्यामा पनि परिवर्तन आएको छ ।