अर्घाखाँची जिल्लाको २१ औं जिल्ला परिषद बैठक तथा निर्णय सार्वजनिकिकरण कार्यक्रम, आर्थिक वर्ष २०७२-०७३ का लागि १ अर्ब २५ करोड बजेट प्रस्तुत


संविधान निर्माणको लागि दलहरु सहमती नजिक पुगेको मन्त्री निधि र एमाओवादी नेता रायमाझीको भनाई



शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची । भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले संविधान निर्माणको निम्ति प्रमुख दलहरु सहमती नजिक पुगेको बताउनु भएको छ । 

 



 

अर्घाखाँची जिल्लाको २१ औं जिल्ला परिषद बैठक तथा निर्णय सार्वजनिकिकरण कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सत्तारुढ दल र प्रतिपक्षीदल हरु विच पछिल्लो समयमा भएका औपचारिक तथा अनौपचारिक वार्ताका कारण संविधान निर्माणमा सहमती जुट्दै गएको बताउनु भयो । दलहरु विच शासकीय स्वरुप, न्याय प्रणाली,र निर्वाचन प्रणालीमा कुरा मिलिसकेको बताउँदै मन्त्री निधिले संघियताका विषयमा समेत सहमति नजिक पुगि सकेको दावी गर्नू भयो । संविधान सभामा सहमती र प्रक्रियाको विषयलाई लिएर विवाद हुनु दुःखद भएको बताउँदै उहाँले सहमती भए पनि संविधान निर्माणको लागि प्रक्रियामा जानु पर्ने र प्रक्रियामा जान पनि सहमती हुनु पर्ने बताउनु भयो । सत्ता पक्षमा रहेका कांग्रेस र एमालले दुई तिहाई बहुमतको अडान लिएर प्रक्रिया जान खोज्नु र विपक्षमा रहेको एमाओवादीले आन्दोलनको चेतावनी दिनुले असहज स्थितिको श्रृजना भएको बताउँदै ,उहाँले अहिले दुबै पक्षले सुध्रिएर जान तत्परता देखाएकोमा खुसी समेत व्यक्त गर्नु भयो । संविधान निर्माण संग सँगै मुलुकमा विकासका पूर्वाधारहरु निर्माण गरी मुलुकलाई सम्वृद्धिको बाटोमा लैजान आफु र आफ्नो पार्टि तयार रहेको उहाँको भनाई थियो । 

 



 

कार्यक्रममा मन्तव्य राख्दै पूर्व मन्त्री तथा एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान निर्माणको निम्ति आफ्नो पार्टि हदैसम्म लचिलो हुन तयार रहेको बताउँदै अन्तरिम संविधान विस्तृत शान्ती सम्झौता र विगतमा गरिएका सम्ंझौताहरुलाई आधार बनाई सहमतीको संविधान निर्माण गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा टेकेर संघीय राज्य निर्माण गर्नू पर्नेमा जोड दिँदै कांगेस र एमाले सहमतीमा आए आफ्नो पार्टि जस्तो सुकै लचकता अपनाउन तयार रहेको बताउनु भयो । रायमाझीले पश्चिमका कैलाली, कञ्चनपूर  पूर्वका झापा मोरङ्ग र सुनसरी गरी ५ जिल्लाको विषयलाई जोडेर एमाले नेता केपि ओली ,कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पूर्वमा तथा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता भिम रावल र एमाओवादीका लेखराज भट्टले संविधान सभालाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनु भयो । मुलुकका शीर्ष नेताहरु नै एक दुई वटा जिल्ला विशेषमा बल्झीएका कारण संघियताको विषयमा विवाद रहेको उहाँको आरोप थियो । 



कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची जिल्ला क्षेत्र नं. २ का सभासद डा. दुमन सिंह थापा, एमाले केन्द्रिय सदस्य तथा पूर्व सभासद नजिर मिया ,एमाओवादी पोलिट व्यूरो सदस्य तथा पूर्व सांसद डिलाराम आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव तथा पूर्व सभासद शन्तबहादुर नेपालीले मुलुकको निकासको निम्ति सबै दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । उहाँहरुले जिल्लाको विकासको निम्ति आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै जिल्लाको उन्नती र प्रगतिको लागि एक ढिक्का भएर अगाडि बढ्न जिल्ला बासीलाई आग्रह गर्नु भयो । 



स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षता र शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, नेकपा एकालेका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला, एनेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का उज्ज्वल, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी, नेकपा मालेका सचिव केदार बेल्बासे, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला अध्यक्ष देवि बहादुर थापा ,नेकपा-माओवादीका जिल्ला सेक्रेटरी दुर्गाप्रसाद अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टिका जिल्ला सचिव टुकबहादुर चुवाली, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, अन्तरपार्टि महिला सञ्जालका जिल्ला अध्यक्ष शान्ता भण्डारी लगायतका वक्ताहरुले मन्तव्य राख्दै दिगो विकासको पक्षमा जोड दिनु भएको थियो । 



कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले आगामी आर्थिक वर्ष २०७२-०७३ का लागि १ अर्ब २४ करोड ९७ लाख ९२ हजार बजेट प्रस्तुत गर्नु भएको थियो । यसै गरी कार्यक्रममा जिल्लाका विभिन्न विधामा उत्कृष्ट योगदान पु-याए बापत विभिन्न व्यक्तित्वहरुलाई नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ । जस अनुसार उत्कृष्ट पत्रकारको रुपमा प्रेमनारायण आचार्य, उत्कृष्ट कृषकको रुपमा गणेश बन्जाडे, रेवतीराज पौडेल, कुशल भुसाल, उत्कृष्ट शिक्षक कृष्ण पौडेल, उत्कृष्ट विद्यार्थी प्रतिक्षा के.सी, जीवन पाण्डे, उत्कृष्ट खेलाडी सपना सारु मगर, उत्कृष्ट पशु पालक रामु के.सी, उत्कृष्ट उद्यमी रमा के.सी, उत्कृष्ट गा.वि.स सचिव पुस्करनाथ आचार्य र उत्कृष्ट कर्मचारीको रुपमा जिविस का कर्मचारी पदम आचार्य सम्मानित हुनु भएको हो । 

 

(तस्बिर: विनोद गैरे , अर्घाखाँचीडटकम )

अन्य समाचारहरु