रुसी विपक्षी नेताको हत्यामा राष्ट्रपति भ्लादिमीर पुटिनकै संलग्नता रहेको आरोप लगाइएको छ ।
विपक्षी नेता बोरिस नेम्त्सोभकी छोरी झाना नेम्त्सोभाले आफ्नो बाबुको हत्यामा राजनीतिक रुपमा पुटिन नै संलग्न रहेको आरोप लगाएकी हुन् ।
बीबीसीसँगको कुराकानीमा झानाले आफ्नो बाबुको लडाई पुटिनसँग मात्र रहेको उल्लेख गरेकी छिन् ।
पुटिन र उनको यूक्रेन नीतिको अलोचक नेम्त्सोभको २७ फेब्रुअरीमा मस्कोमा गोली हानी हत्या गरिएको थियो ।
राष्ट्रपति पुटिनले हत्याको निन्दा गर्दै छानबीन गर्न आदेश दिएपनि नेम्त्सोभकी छोरीले भने पुटिनतर्फ नै औला ठड्याएकी हुन् ।
हत्याको छानबीन गरिरहेको भनेका अधिकारीहरुले अहिलेसम्म कसैले पनि आफूसँग सम्पर्कसमेत नगरेको झानाको भनाइ छ ।
घटनामा दोषी रहेको भन्दै चेचेन मूलका दुई जनाविरुद्ध आरोप लगाइएपनि एक जनाले आफूलाई यातना दिएर दोष कबूल गर्न लगाइएको भन्दै संलग्नता इन्कार गरेका छन् । अरु तीन जना भने हिरासतमा छन् । एजेन्सी