अन्तरजातीय विवाह गरेकी बेलकुमारीलाई पतिको किरिया गर्न घरमा नदिएपछि सन्धिखर्कको गच्छे पौवामा किरिया बस्न बाध्य

–  प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची ।  महिला अधिकार र जातीय विभेदविरुद्ध सक्रिय महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीकी महिला विकास निरीक्षक बेलकुमारी परियारले पतिको किरिया गर्न पाइनन् ।  

 



गच्छे पौवामा बसेर पतिको किरिया गर्न बाध्य बेलकुमारी परियार र उनका छोराहरु ।

 

अन्तरजातीय विवाह गरेकी उनले पतिनको निधनपछि किरिया गर्न जाँदा उनका परिवारले घरमा पस्न नदिएपछि पौवामा बस्न बाध्य भएकी छन् । सरकारी कर्मचारी नै विभेदको सिकार भएको यो घटनाले जातीय समानताका नारा र ब्यवहारमा भएको अन्तर छर्लङ्ग पारेको छ ।



अरुको हक र अधिकारका लागि सधैं लडिरहेकी सरकारी महिला कर्मचारी आफैँलाई परिवारले बहिष्कार गर्दा पौवामा बसेर पतिको किरिया बस्न बाध्य छिन् ।



अर्घाखाँचीको ठाडा गाविसकी परियारले २०५७ मा कास्कीको रुपाकोट-४ भोर्लेका विष्णुबहादुर कुवँरसँग प्रेम विवाह गरेकी थिइन् । सन्धिखर्कमा बस्दै आएका उनका पति विष्णुबादुर कुवँरले गत आइतबार आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरे ।



पतिले आत्माहत्या गरेपछि घरपरिवार र दाजुभाइलाई खबर भयो । कास्कीबाट कुवँरका परिवार आएर उनको दाहसंस्कार गरे । तर किरिया बस्न पत्नीलाई घर नलाने उनीहरुले अडान लिएपछि सन्धिखर्कका समाजसेवी र सरोकारवालाले लैजान आग्रह गरे ।



तर कुवँर परिवारले जातीय कुराले परिवारे समाजबाट बहिस्कृत हुने भन्दै परियारलाई लैजान मानेनन् । परिवारले लान नमानेपछि उनी पौवामै बसेर पतिको किरिया गर्न बाध्य भइन् । अहिले सन्धिखर्कको गच्छेस्थित एक पौवामा दुई छोराको साथमा पतिको किरिया बसेकी छन् ।



विवाहपछि बेलकुमारीलाई उनको घरमा कहिल्यै जान दिइएन । पति जीवित हुन्जेल जेठाजुको घरमा जाने गरेकी उनी पतिको निधन भएपछि त्यहाँ पनि जान पाइनन् ।



कहिलेकाँही जेठाजुको घरमा जान्थेँ । पतिको निधन भएपछि त्यहाँ पनि जान दिएनन्, बेलकुमारीले गहभरी आँसु पार्दै भनिन्, पतिको किरिया गर्न जान्छु भन्दा पोखराको घरको ढोका पनि थुनियो ।



उनले घर बाहिरै बसेर किरिया गर्छु भन्दा पनि कुवँर परिवारले जानै नदिएको गुनासो गरिन् । मलाई घरमा लैजानुस्, बाहिरै बसेर किरिया गर्छु भनी विन्ती गर्दा पनि नमानेपछि पौवामा बस्न बाध्य भएकी हुँ, उनले भक्कानिँदै भनिन्, मलाई नलगे छोराहरु दलित हैनन् । कुवँरकै छोरा हुन्, उनीहरुलाई लैजानुस् भन्दा पनि मानेनन् ।



छोराहरुले पनि आमालाई छाडेर नजाने भनेपछि तीन आमा छोरा अहिले पौवामा किरिया बस्न बाध्य भएका हुन् ।  



सरकारी गैरसरकारी संस्थाले जातीय विभेदविरुद्द जनचेतनाका नाममा पैसा खर्च गरिरहेपनि पोखरा जस्तो विकसित ठाउँका मानिस पनि जातीय कुरीतिको पछि लाग्दा एउटी महिला अन्यायमा परेकी छन् ।



सन्धिखर्कमा भएको छलफलमा उनका जेठाजु तथा मृतकका दाजु हरिबहादुर कुवँर क्षेत्रीलाई बेलकुमारीलाई घर लैजान आग्रह गर्दा लैजाने मन भए पनि समाजबाट वहिस्कृत हुने डरले हिम्मत जुटाउन नसकेको बताएका थिए ।



विष्णुबहादुरको दाहसंस्कार गरेपछि कुवँर परिवार बेलकुमारी र छोराहरुलाई पौवामा छाडेर फर्केका छन् । उनीहरुले मानवता समेत भुलेर विष्णुबहादुरको किरियासमेत बसेनन् । 

 

सम्बन्धित समाचारमा:

अन्य समाचारहरु