नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको विहीबार बसेको बैठकले डा. नेपाललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सन्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
यसअघिका गभर्नर डा. युवराज खतिवडाको पाँच वर्षे  कार्यकाल विहीबारैदेखि सकिएको छ ।
सरकारले यसअघि अर्थमन्त्री डा. रामशरण महतको अध्यक्षतमा गभर्नर सिफारिस गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले डा. नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय महाप्रसाद अधिकारी र गोपाल काफ्लेको नाम सिफारिस गरेको थियो ।
नवनियुक्त गभर्नर नेपाल यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए ।
मन्त्रिपरिषद बैठकले काठमाडौंको फोहोर उठाउनका लागि फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलमा तत्काल सशस्त्र प्रहरी बलको क्याम्प राख्ने निर्णय पनि गरेको छ ।
क्याम्प राख्नका लागि आवश्यक सहयोग गर्न भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले सहयोग गर्ने गरी समन्वय गर्ने जिम्मेवारी मुख्य सचिवलाई दिइएको छ ।
बैठकले सुदूरपश्चिम र कर्णाली विकास आयोग गठन आदेश संशोधन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विभिन्न समूहसँग वार्ताका लागि गठन गरेको वार्ता समितिको म्याद ४५ दिन थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
समितिले विभिन्न सशस्त्र समूहहरुसँग वार्ता गर्दै आएको छ । इमेजखबरमा समाचार छ ।