अब बढी यात्रु बोक्नका लागि कुनै सवारी साधनले सिट झिके वा थपे एक लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं   – सार्वजनिक सवारी साधनमा यात्रु बढी राख्दा दुर्घटना बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न जरिवानाको कडा प्रावधान ल्याएको छ । बढी यात्रु बोक्नका लागि कुनै सवारी साधनले सिट झिके वा थपे एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा मंसिर २५ मा गठित उच्चस्तरीय कार्यदलले ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रतिवेदन’ मा बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्न सुझाव दिएको थियो । मन्त्रिपरिषद् बैठकले सोही सुझाव कार्यान्वयनको निर्णय गरेको हो ।
थप यात्रु बोक्न सिट झिके वा थपे पहिलोपटक २५ हजार, दोस्रोपटक ५० हजार र तेस्रोपटक १ लाख जरिवाना गरिनेछ । तोकिएको क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा ३ पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गरिनेछ । मन्त्रालयका सहसचिव रविनमान श्रेष्ठका अनुसार यातायात क्षेत्र सुधारका लागि सरकारले सार्वजनिक सडक ऐन, यातायात व्यवस्था ऐन, यातायात व्यवस्था नियमावली र राष्ट्रिय यातायात नीति ल्याउन लागेको छ ।
सरकारले निर्धारण गरेभन्दा बढी भाडा लिए प्रतिपटक ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिने भएको छ । मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाए पहिलोपटक भए १० हजार वा ६ महिनाका लागि चालक अनुमतिपत्र निलम्बन गर्ने र दोस्रो पटक ५० हजार वा १ वर्षका लागि चालक अनुमतिपत्र निलम्बन गर्ने सरकारको तयारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीका अनुसार रुट इजाजतपत्र नलिई यातायात सञ्चालन गर्नेलाई प्रत्येक पटक ५० हजार रुपैयाँका दरले जरिवाना गरिनेछ । ईकन्तिपुरमा समाचार छ ।