गाउँमा गाईपालनको लहर चलेपछि अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर

वीरेन्द्र केसी
किमडाँडा, अर्घाखाँची । किमडाँडाकी जानुका बञ्जाडेले ११ वटा जर्सीगाई पालेकी छन् । दैनिक ७० लिटर दूध चुत्रावेसी बजारमा बेच्छिन् । दैनिक ३५ सय रुपैयाँ आम्दानी गर्छिन् । ‘गाईबाट स्याहार पुर्‍याउन जान्दा आम्दानी राम्रो छ,’ उनले भनिन्, ‘हामी चार वर्षमै फेरियौं ।’ 
गाउँमा गाईपालनको लहर नै चलेपछि अर्घाखाँची जिल्ला अहिले दूधमा आत्मनिर्भर बनेको छ । यहाँस्थित जिल्ला पशु सेवा कार्यालयले अवस्थाअनुसार किसानले दूधबाट यहाँ मासिक कम्तीमा १० हजार रुपैयाँसम्मको कमाइ गर्न थालेको जनायो । 
गाईको दूधबाट पौष्टिक हुने भएकाले माग अत्यधिक छ । वैदेशिक रोजगारबाट फर्किएका पटौती नियालीका शंकर घिमिरेले गाईपालनमा व्यस्त छन् । मलेसिया र दुबईबाट फर्किएर सुरु गरेको हुँ, उनले भने, ‘दूधबाट वर्षमा घरखर्च कटाएर २ लाख रुपैयाँ बचत गर्दै आएको छु । अब त अमेरिका भने पनि जान्नँ । आफ्नै माटोमा खेल्छु । उनीसहित १२ जनाले वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् । गाउँका २ सय ४० किसानले झन्डै ४ सय गाई र भैंसी पालेका छन्, देउराली दूध संकलन केन्द्रका अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘नियाली र नेटापोखरामा दुईवटा संकलन केन्द्र छन् ।’ यहाँबाट झन्डै ३० किलोमिटर टाढा तानसेनको गोरसघरमा हुँदै पोखराको सुजन डोरी उद्योगमा दूध पठाइन्छ । 
पाँच वर्षअघि निर्मल घिमिरेलाई दूध बेचेर पैसा कमाइन्छ भन्ने थाहै थिएन । छाक टार्ने समस्याले पिरोलिरहन्थ्यो । अन्नबालीको खेतीले ६ महिनालाई पनि खान पुग्दैनथ्यो । ज्याला मजदुरीबाट दिनमा २ सय कमाइले परिवार धान्न मुस्किल परेको थियो । गोठमा अहिले दुइटा गाई र दुई भैंसी छन्, उनले भने, दूधबाटै वर्षमा साढे दुई लाख बचत छ । अहिले कुनै समस्या छैन । गाई पाल्न गाउँमा उत्साह र लहर नै चलेको किमडाँडाका लक्ष्मी गाईपालन समूहका अध्यक्ष गणेश बञ्जाडेले बताए । उनले भने, गरे हुने रहेछ भन्ने बुझेपछि मलाई लाग्छ गाउँबाट अब गरिबी घट्दै छ ।
पशुपालनमा वृद्धि भएपछि पाँच वषमै जिल्ला दूधमा आत्मनिर्भर बनिसकेको छ । सहरनजिकै ग्रामीण भेगमा समेत दूध उत्पादनमा वृद्धि भएको छ । 

अन्य समाचारहरु