सभाध्यक्ष संविधानसभाको अनिश्चितकालका लागि स्थगित प्रक्रिया पुनः सुरु गर्ने गृहकार्यमा

काठमाडौ  – सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधानसभाको अनिश्चितकालका लागि स्थगित प्रक्रिया पुनः सुरु गर्ने गृहकार्यमा जुटेका छन् । त्यसबारे छलफल गर्न उनले बुधबार अपरान्ह प्रमुख दलका सचेतकहरुको बैठक डाकेका छन् । माघ २९ मा अर्को सूचना प्रकाशित नभएसम्म संविधानसभा बैठक स्थगित थियो ।
दलहरूबीच संविधानका अन्तरबस्तु र प्रक्रियामा सहमति गर्न पटक-पटक दिएको समयसीमा ब्यर्थ भएपछि नेम्वाङले बैठक बोलाउने तयारी गरेका छन् । यसअघि उनले दलका शीर्ष नेताहरुलाई सहमतिका लागि बुधबारसम्म पखर्ने बताएका थिए ।
प्रमुख सचेतकहरुसँगको परामर्शपछि मात्रै उनले बैठक डाक्ने सूचना जारी गर्ने वा दललाई अर्को एक मौका दिएर त्यतिन्जेल पनि नभए प्रक्रिया सुरु गर्ने सम्भावित तिथिको जनाउ दिने भन्ने विकल्पमध्ये एक रोज्नेछन् । नियमावली अनुसार, बैठक डाँक्न तीन दिनअगावै सूचना दिनुपर्छ । ‘सहमतिलाई ठाउँ दिनुपर्ने र सधैभरी पर्खन नसकिने बाध्यताकाबीच सचेतकहरुको बैठकले बाटो तय गर्नेछ,’ गृहकार्यमा सहभागी एक अधिकारीले भने । कान्तिपुर दैनिकमा समाचार छ ।