१२ दिनपछि सरकारले माग पूरा गरेर अनसन तोडेका डा. गोविन्द केसीले यो उपलब्धी तीन करोड नेपालीको भएको बताएका छन्।
बिहीबार धादिङ ठूलखर्कका १० वर्षीय सुवाद अधिकारी र टिचिङ अस्पताल अगाडि जुत्ता सिलाएर बस्ने सप्तरी हरिपुरका ४३ वर्षीय सत्यनारायण रामको हातबाट संयुक्त रूपमा जूस पिउँदै अनसन तोडेपछि डा. केसीले भने- यो उपलब्धी तीन करोड नेपालीको हो। यो उपलब्धी गुम्न पनि सक्छ। त्यसकारण उपलब्धीको नासो तीन करोड नेपालीलाई नै जान्छ।
यसअघि हाम्रा पूर्व सम्झौताहरू उल्लंघन भए र तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड भयो। तर व्यापक जनदबाबका कारण सरकार पछि हट्न बाध्य भयो।
त्यसका लागि स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी,नागरिकर्मी, सञ्चारकर्मी, डाक्टर, विद्यार्थी र नर्सहरूलाई धन्यवाद दिन चाहन्छु। सेतोपाटीमा समाचार छ ।