केन्याका राष्ट्रपति उहिरु केन्यात्ताले सोमालियाको अल शबाब विद्रोहीलाई सखाप पार्ने चेतावनी दिएका छन् ।
विद्रोहीको आक्रमणबाट १ सय ४८ विद्यार्थीको मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति केन्यात्ताले विद्रोही विरुद्ध सक्दो कडा कारवाही गर्ने उल्लेख गरे ।
सोमालियाका अल शबाब विद्रोहीहरुले केन्याको अस्तित्वमाथि नैं जोखिम उत्पन्न गराएको बताँउदै उनले आतंकवादीलाई नैतिक एवं आर्थिक सहयोग गर्ने मतियारलाई नछोड्ने उद्घोष गरे ।
राष्ट्रपति केन्यात्ताले आतंकवाद विरुद्धको लडाइमा एकजुट हुन केन्याका राजनीतिक दल तथा जनतासँग अपिल समेत गरे ।
गत विहिवार अल शबाबका बन्दुकधारीले केन्याको गारीसास्थित एक विश्वविद्यालयमा आक्रमण गरी १ सय ४८ विद्यार्थीको हत्या गरेका थिए ।
मारिनेमा अधिकांश क्रिश्चियन समुदायका विद्यार्थी थिए । घटनामा ४ जना बन्दुकधारी समेत मारिएका थिए ।
घटनापछि केन्याली सेनाले विश्वविद्यालयकै एक जना सुरक्षा गार्ड सहित कम्तिमा ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।
सोमालियमा लामो समयदेखि आतंक मच्चाँउदै आएको अल शबाब विद्रोही विरुद्ध केन्या लगायत अफ्रिकी युनियनका बहुराष्ट्रिय सेनाले कारवाही गर्दै आएको छ ।
एजेन्सी