स्वाइन फ्लुबाट ग्रसित एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधन

स्वाइन फ्लुबाट नेकपा एमालेका नेता रामनाथ ढकालको  ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ। 
एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सांसद रामनाथ ढकाललाई पछिल्लोपटक स्वाइन फ्लु भएपछि चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।
ढकाललाई क्यानसर र क्षयरोगको समस्या पनि थियो। उहाँको भर्खरै निधन भएको छ, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 
अस्पताल प्रमुख डा. चक्रराज पाण्डेले पनि उनको निधन भएको पुष्टि गरेका छन्। ग्राण्डी अस्पतालले ढकाल स्वाइनफ्लू, क्षयरोग र लिम्फोफ्लोलिफिरिटिज लगायतका गम्भीर रोगहरुबाट ग्रसित रहेको र हर प्रयास गर्दा समेत बचाउन नसकिएको जनाएको छ ।
उनलाई आईसीयूमा उपचारका क्रममा दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो ।
ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । ढकाल अघिल्लो संविधानसभा/व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए । 
२०१९ सालमा गुल्मीको खड्गकोटमा जन्मिएका ढकालका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ढकालको शव पोष्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 
भोलि विहान ८ बजेपछि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि नै अन्त्यष्टी गरिने एमालेले जनाएको छ ।  संचारमाध्यममा  समाचार छ ।