गाडी र मान्छेको भिड भाड हुने सन्धिखर्कको सडक खेलमैदान बन्यो

शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची । सधै गाडी र मान्छेको भिड भाड हुने सदरमुकाम सन्धिखर्कको सडक मङ्गलबार खेलमैदान बन्यो । एमाओवादी सम्बद्ध ३० दलिय मोर्चाको आयोजनामा सञ्चालित आम हडतालको पहिलो दिन आज जिल्लाको जनजिवन पुर्ण रुपमा ठप्प भएका कारण सदरमुकामका सडकहरु बालबालिकाको नियन्त्रणमा थिए । 

 


तस्बिर – अर्घाखाँचीडट्कम

 

बन्दले विद्यालय जान नपाएका बालबालिकाहरु सडक खाली भएपछि क्रिकेट, ब्याडमिन्टन, भलिवल लगायतका खेल खेलेर दिनभर रमाएका थिए । अघिल्ला बन्दहरुमा स्थानीय बासिन्दाले विरोध गर्ने गरेकोमा यस पटक भने कसैले विरोध गरेको पाईएन । व्यापार व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायी र स्थानीय बासिन्दाले लामो समयपछि भएको पहिलोदिनको बन्दलाई सामान्य रुपमा लिए । बन्दले आज जिल्लामा यातायात, उद्योग, व्यापार, शिक्षण, संघ-संस्था ठप्प भएका थिए । 
 



तस्बिर – अर्घाखाँचीडट्कम

 

जिल्लामा विहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका ५ बजे खुलेको थियो । आज निम्ति बन्द खुलेपनि व्यापारीहरुले पसल खोल्न खासै चासो राखेका थिएनन् भने सवारिसाधन समेत फ्याट्ट फुट्ट मात्र चलेको पाईन्थ्यो । यस अघि सयौको संख्यामा सदर मुकाममा केन्द्रित भएका बन्दकर्ताहरुले दिनभर सन्धिखर्कमा प्रदशर्न गरेका छन् । विगत बन्दहरुमा आक्रोशित बन्ने कार्यकर्ताहरु यस पटक नरम देखिएका थिए । 

 



तस्बिर – अर्घाखाँचीडट्कम

 

उनीहरुले अत्यावश्यक कामले सञ्चालित सवारीका साधनलाई सम्झाई बुझाई गरि गन्तव्यमा पुग्नको लागि सहयोग पु-याएका थिए । बन्दमा मेडिकल, दुधका गाडी, एम्बुलेन्स र प्रेशका गाडी संचालनमा छुट दिइएको थियो । बन्दकर्ताले सरकारी कार्यालयमा कुनै अवरोध नपु-याए पनि सेवाग्राही नभएका कारण सधै मानिसको भिडभाड हुने जनसम्पर्कका सरकारी कार्यालय समेत सुनसान थिए । सेवाग्राही नआएपछि सरकारी कार्यालयका कर्मचारीहरु छहारीमा बसेर गफगाफ गरेको पाईन्थ्यो भने कतिपय कर्मचारी आफ्नो मोवाईलबाट फेसबुकमा च्याट गर्नमा व्यस्त देखिन्थे । 




तस्बिर – अर्घाखाँचीडट्कम

 

यसैबीच सेवाग्राही नआएको मौका छोपी जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, सन्धिखर्क नगरपालिका लगायतका सरकारी कार्यालयका कर्मचारीहरुले आज कार्यालय हाता वरिपरि सरसफाई गरेका छन् । 



आजको बन्द जिल्लामा पुर्ण रुपमा सफल रहेको एमाओवादी जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वलले बताउनु भयो । जिल्ला बासिको पुर्ण सहयोगमा बन्द सफल भएको उहाँको भनाई थियो । 

 



तस्बिर – अर्घाखाँचीडट्कम

 

बन्दको क्रममा आज दिउँसो भएका प्रदर्शनमा एमाओवादीका केन्द्रीय सल्लाहाकार राजु नेपाली, जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल, उपाध्यक्ष कमल खनाल, जिल्ला सेक्रेटरी ठाकुर कुमार बि क किशोर, जिल्ला कोषाध्यक्ष छम कुमारी खनाल, जिल्ला सदस्य राम बहादुर रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो । 

अन्य समाचारहरु