यमनमा हुती विद्रोहीविरुद्ध लडिरहेको साउदी अरब नेतृत्वको गठबन्धन सेनालाई हतियार उपलब्ध

यमनमा हुती विद्रोहीविरुद्ध लडिरहेको साउदी अरब नेतृत्वको गठबन्धन सेनालाई छिटो-छिटो हतियार उपलब्ध गराउन थालिएको अमेरिकाले जनाएको छ ।
यमनको वैधानिक सत्ताविरुद्ध लडिरहेका हुती विद्रोहीलाई नियन्त्रण गर्न गठबन्धनसँग गोप्य सूचना आदान-प्रदानका क्षेत्रमा सहकार्य गर्न पनि अमेरिकाले भनेको छ । सहायता उपलब्ध गराउने संस्थाहरुले यमनको अदन सहरमा भइरहेको संघर्षमा सर्वसाधारणको मानवीय अवस्था दयनीय भएको बताएकै बेला अमेरिकाको यस्तो भनाइ आएको हो ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले भने एक सातामा यमनको जारी संघर्षमा ५ सय ५० जना मारिएको जनाएको छ । संघर्षका कारण फसेका पर्यटकहरु अदनको खाडी मुलुक हुँदै जिबुतीतर्फ लागेका छन् ।
हुती विद्रोही र साउदी अरबको गठबन्धन सेनाबीचको संघर्षका मारमा परेका जनतामा औषधिको चरम अभाव भएको छ । अन्तर्राष्ट्रिय रेडक्रस समितिले यमनमा औषधिको खाँचो औल्याउँदै तत्काल पहल थाल्नुपर्ने जनाएको छ ।
यस्तै, पानी वितरण प्रणाली ध्वस्त भएका कारण खानेपानीको चरम अभाव भएको छ । संघर्षका कारण यमनबाट एक लाख जनता विस्थापित भइसकेका छन् ।
यमनमा जारी संघर्षका कारण भारत र पाकिस्तानलगायत देशले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेका छन् । (एजेन्सी)