बाग्लुङ । संविधानसभा सदस्यका लागि बागलुङ क्षेत्र नं. १ मा उपनिर्वाचनको मतदान जारी छ ।
बिहान ७ देखि मतदान शान्तिपूर्ण रुपमा सुरु भएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।
निर्वाचनलाई व्यवस्थित र धाँधलीरहित बनाउन ७० ओटै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
सुरक्षाका लागि गृह मन्त्रालयका सचिवसहितको टोलीले अनुगमन गर्ने जनाइएको छ । हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीहरु रहने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा ५२ हजार दुई सय दुई जनाले मतदान गर्दैछन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल लगायत १० दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा रहेपनि कांग्रेस र एमालेका उम्मेदवारबीच नै सीधा प्रतिष्पर्धा हुने जनाइएको छ ।
साँझ ५ बजेसम्म हुने मतदान हुने छ । निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि जिल्लामा यातायात सन्चालनमा रोक लगाइएको छ । – इमेजखबरमा समाचार छ ।