बाग्मती सफाइः सफाइ महाअभियानको १ सयौं हप्ता पुगेको अवसरमा मानव साङ्लो

काठमाडौं  – सफाइ महाअभियानको १ सयौं हप्ता पुगेको अवसरमा शनिबार मानव साङ्लोले वाग्मती नदी बाँधिएको छ ।

सुन्दरीजलदेखि चोभारसम्मको करिब २८ किमि क्षेत्रमा दुवैतर्फ साङ्लो बनाइयो । मानव साङ्लोमा करिब १ लाख मानिसको सहभागिता रहेको मुख्यसचिव लीलामणि पौड्यालले जानकारी दिए ।
१ सयौं हप्ता पुगेको अवसरमा बनाइएको मानव साङ्लोमा प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायतका नेता सहभागी भए ।
प्रधानमन्त्री सुशील कोइरालाले जनताको उठेको हातलाई सरकारको साथ रहने बताए । ‘जनताको हात उठिसकेको छ,’ सयौं हप्ताको कार्यक्रममा सहभागी प्रधानमन्त्रीले भने, ‘सरकारले पूरापूर साथ दिन्छ ।’ कोइरालाले वाग्मती सफा हुने क्रममा रहे पनि ढलको समस्या जटिल रहेको बताए ।
मानव साङ्लोमा निजामती कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारण सहभागी भए । वाग्मती नदीको दुवैतिर मानव साङ्लो बनाएर राष्ट्रिय गानद्वारा कार्यक्रम उद्घाटन गरियो ।
वाग्मती नदीको दुवैतिर करिब ५६ किमि क्षेत्रको मानव साङ्लोको व्यवस्थापनको जिम्मा विभिन्न मन्त्रालयका सचिवलाई दिइएको थियो । गोकर्णदेखि सुन्दरीजलसम्मको मानव साङ्लोको जिम्मेवारी ८ गाविसका स्थानीयलाई दिइएको थियो । ईकान्तिपुरमा समाचार छ ।