बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नम्बर-१ मा शनिबार संविधानसभा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।
मतदान शान्तिपूर्ण भएको जनाइएको छ भने करिब ७३ प्रतिशत मत खसेको जनाइएको छ । मतगणना आइतबार बिहानबाट थालिने बताइएको छ ।
उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरे ।
७० मतदान केन्द्र रहेको उपनिर्वाचनमा जिल्लामा पहिलोपटक विद्युतीय मेसिनबाट मतदान भएको छ । मतदानका लागि अशक्त, बृद्ध, गर्भवती महिला लगायतलाई छुट्टै व्यवस्था मिलाएको थियो ।
२०७० मंसिर ४ मा भएको संविधानसभा निर्वाचनबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको सडक दुर्घटना परी निधन भएपछि उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का, एमालेबाट मनकुमारी केसी, र एमाओवादीबाट कृष्ण केसी प्रतिष्पर्धामा छन् ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी, राप्रपा नेपाल र राप्रपाका नवीनचन्द्र गर्बुजा, संघीय समाजवादीका रेसम थापामगर, नेकपा मालेका कुलबहादुर किसान, परिवार दलका बाबुराम शर्मालगायत १० दलका र ३ जना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । – इमेजखबरमा समाचार छ ।