काठमाडौं – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागी नहुने दाबी गरेका छन् ।
मोर्चाबाट अब मधेसीले अधिकार नपाउने ठोकुवा गर्दै महतोले अब मनोरञ्जन गर्नको लागि मात्रै मोर्चाको बैठकमा नजाने स्पष्ट पारे । तीस दलीय गठबन्धनले अब काम चल्दैन, रिपोर्टर्स क्लवको साक्षात्कारमा आइतबार उनले भने, मधेसीहरुलाई यो मोर्चा चाहिँदैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको दोधारे चरित्रले मोर्चाको औचित्य सकिएको उनले आरोप लगाए ।
मधेसी दलहरु छुट्टै आन्दोलन गर्न सक्षम रहेको तर्क गर्दै महतोले छुट्टै मोर्चा गठन गरेर कठोर संघर्षको तयारी गरिएको जानकारी दिए ।
महतोले मधेसको पनि भूमि कसैलाई पनि एक इञ्च नदिने उल्लेख गरे । मधेस प्रदेशको एक इञ्च पनि दिँदैनौँ, उनको भनाइ थियो, मधेसमा बस्ने सबै मिलेर बस्छन् । विभाजन हुन दिदैनौँ, गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ । तराईका पाँच जिल्लालाई मधेसी र पहाडीको नाममा विभाजन गर्न खोजिँदैछ । त्यो मानिँदैन ।’
३० गतेको बैठकमा पनि शोक प्रस्तावमात्रै
कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले चैत ३० गतेको संविधानसभाको बैठक पनि पूर्वसांसद सलिम मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव परित गर्दै सहमतिको लागि फेरि चार पाँच दिनको लागि स्थगित हुने जानकारी दिए ।
प्रश्नावली तयार भए पनि सहमतिकै लागि पटक पटक बैठक स्थगित भएको उनले बताए । श्रेष्ठले मधेसमात्रै नभएर पूर्वको लिम्बूवान र पश्चिमको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा पनि सरकारले सम्झौता गरेकाले कार्यान्वयन गर्नैपर्ने बताए । ईकन्तिपुरमा समाचार छ ।