काठमाडौं । माओवादी लडाकू व्यवस्थापन, द्धन्द्धबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण तथा द्धन्द्ध पीडितलाई राहत र पुनःस्थापनामा अहिलेसम्म ४० अर्ब रुपैयाँ खर्च भएको छ ।
व्यवस्थापिका संसदको सामाजिक, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा उपस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले सो विवरण प्रस्तुत गरेका हुन् ।
माओवादी लडाकू व्यवस्थापनामा १९ अर्ब ६१ करोड ९ लाख ५६ हजार ५ सय ५५ रुपैयाँ, शिविर व्यवस्थापनामा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय रुपैयाँ, बाटो निर्माण खानेपानी, विद्युत् लाइन पुनःनिर्माणमा १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै, माओवादी लडाकूको स्वेच्छिक अवकास, बाटो खर्च र प्रशासनिक खर्च गरेर ८ अर्ब २६ करोड ९२ लाख ६१ हजार ३ सय ५२ रुपयाँं खर्च भएको सचिव पुञ्जालीले पेश गरेको विवरणमा जनाइएको छ ।
चालु आर्थिक वर्षमा पनि पुनःनिर्माण तथा पुनःस्र्थापना कार्यक्रममा १२ सय ४३ ओटा आयोजनालाई १ अर्ब २७ करोड, ७७ लाख ७१ हजार र शान्तिका लागि विकास कार्यक्रम अन्र्तगत १५ सय १२ आयोजनालाई ५० करोड रुपैयाँ छुट्याइएको सचिव पुञ्जालीले जानकारी दिए ।
बैठकमा सांसदहरुले पहुँचवालाले मात्र राहत पाएको र नक्कली कागज बनाएर टाठाबाठाले मात्र रकम बुझेको गुनासो गरेका थिए ।
जवाफमा सचिव पुञ्जालीले अब त्यस्तो गल्ती नदोहोरिने वचन दिँदै सम्पत्ति कब्जा भएकाहरुको पनि लगत संकलन गरी राहत दिने तयारी भइरहेको जानकारी दिए । इमेजखबरमा समाचार छ ।