शोभाखर पन्थी
नरपानी, अर्घाखाँची ।
आज नयाँ वर्ष २०७२ । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थल नरपानीमा प्रथम नरपानी, सुपादेउराली, खाँचीकोट पर्यटन महोत्सव आज मङ्गलवार हुने भएको छ ।
सन्धिखर्क नगरपालिका ७ नरपानीमा हुने महोत्सवमा जिल्लाभित्रका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका पर्यटकिय स्थलको पहिचान गराउनुका साथै जिल्लाभित्रको सँस्कृति, भेषभुषा र खानाका परिकारहरु समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
नर्तनाचल सामुदायिक विकास युवा क्लव नरपानीको आयोजनामा संचालन हुने महोत्सवमा लोक गायक राजु परियार, किरणबावु पुन, लोक गायिका जानकी तारामी मगर, जन गायक जीवन शर्मा, आधुनिक गायक हेमन्त शिशिर, हाँस्य कलाकार कमल गाऊँले, दिल कुमार बि.क., मोडल-डान्सर पार्वती राई लगायत,का केन्द्रीय कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ । महोत्सवमा जिल्लाभित्रको सालैजो, मारुनी नाँच, सोरठी र भजन नाँच तथा झाँकी समेत प्रदर्शन गरिने तयारी भएको आयोजकले जनाएको छ । पर्यटक स्थलको पर्यटन प्रवद्र्धनका निम्ति बलियो सम्भावना रहेको महोत्सवले नयाँ उर्जा थप्ने स्थानीय समाजसेवि शेर बहादुर बि.सी.ले बताउनु भयो ।
पूर्वपश्चिम राजमार्ग सँग जोडीएको यस जिल्लामा ४ दर्जनभन्दा बढी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटकीय स्थलहरु रहेकाछन् । यहाँका सुपा देउराली मन्दिर खाँचीकोट र भगवति मन्दीर अर्घा,पाणिनी तपोभुमि पणेना, देशकै प्रसिद्ध मानिन्छन् ।
पाणिनी ऋषिले तपस्या गरेको पाणीनी तपोभुमि पणेना संसारकै पवित्र ठाउँ मानिन्छ ।अधिकाम्स हिमशिखर र तराईका भू भागको एकैठाउँ बाट दृश्र्यावलोकन गर्न सकिने पणेनाको प्राकृतिक वातावरण साँच्चै चर्चागर्न योग्य छ । जिल्लाको सुपा देउराली मन्दिर लाखौ लाख जनताको विश्वास र आधारको प्रतिक बनेको छ । गोरुसीङ्ग-सन्धिखर्क सडक खण्डमा पर्ने सो मन्दिरमा दैनिक पुजा-आजाको निम्ति झण्डै ३ हजार भक्तजनहरु आउने गर्छन् । देउरालीको दर्शन गरी भाकल गरेमा चिताएको पुग्ने विश्वासको आधारमा नेपालका ३० भन्दा बढी जिल्ला र भारतबाट समेत भक्तजनहरुको प्रत्येक दिन घुँइचो लाग्ने गर्दछ । जिल्लामा दर्जनौ सुन्दर पहाड, सयौ मठ मन्दिर, दह, पोखरी र प्राकृतिक गुफाहरु तथा वाईसी-चौबिसे राज्यका दरवार समेत रहेका छन् ।
जिल्लाका प्रमुख ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल
भगवति मन्दीर अर्घा, खाँचीकोट दरवार खाँचीकोट, डमरुदह ठाडा, दुर्वासेश्वर गुफा खिदीम, पाणिनी तपोभुमि पणेना, उल्क छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक खन, बल्कोट पौवा र शिवालय बल्कोट,नृत्यञ्चल पर्वत र रामवाण तपोभुमि नरपानी, मसीना र तीनपाने लेक धातिवाङ्ग, सेङलेङ्ग दह धनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्तेपानी, सितखोलाको झरना, रावणको शंख सितापुर, भाले ओढार धारापानी, पकले बगैचा र पौवा किमडाँडा, भुमिका स्थान ढाकावाङ्ग, सिमे देउराली गोखुङ्गा, घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, सरेपानी ठाडा, गौचौरको दह ढिकुरा, तिलखुवा झरना, जिखोदी गुफा वाङ्ला, हटियादेवि मन्दिर केरुङ्गा जिल्लाका प्रमुख ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल हुन् ।
यसैगरी जिल्लाका अन्य ऐतिहासिक स्थलहरुमा ढावरखोला झरना चिदीका, मधु लेकको गुफा चिदीका, धैरेनी राजाको दरवार ठुलापोखरा, शिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोला झरना खन, खन देउराली गुफा खन, गोपेश्वर पीठ वाङ्ला, लामपाटी पौवा वाङ्ला, ओडारपानी गुफा अर्घा, गोहोरथुम देउराली किमडाँडा, बान्द्रे गुफा गोखुङ्गा, छहरे खोला झरना सिमलपानी, ठुलापोखरा गुफा सिमलपानी, रानी ओढार सुवर्णखाल, मेघनाथ गुफा सिद्धारा, गुरुङ भिरको गुफा सिद्धारा, कालीमाटीको लेक मैदान, मालिका मन्दिर खिदीम, कैलाश डाँडा पणेना आदी छन् ।
सबै गाविस र वार्ड-वार्डमा समेत सडक सुविधा पुगेको यस जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा प्रत्येक वर्ष देशभित्र तथा बाहिरका हजारौ पर्यटक भित्राएर लाखौं आम्दानी गर्न सकिने बलियो संभावना रहेको नेपाली कांग्रेसका युवानेता वासुदेव आचार्यले बताउनु भयो । जिल्लालाई पर्यटन उद्योगको रुपमा विकास गर्न केन्द्र र जिल्लाबाट विशेष कार्यक्रम अगाडी ल्याउने तयारी भईरहेको आचार्यको भनाई छ ।
पर्यटन क्षेत्रको विकास बाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जिवीकोपार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त संभावना रहेको एमाले उपसचिव प्रेमनारायण गैरेले वताउनुभयो ।सरकारी उदासीनता र संचार माध्यमको पँहुचको अभावमा जिल्लाका सम्पदाहरु ओझेलमा परेको उहाँको भनाई छ ।
जिल्लाका हजारौं युवाहरु रोजगारीको लागी खाडी मुलुकमा जान बाध्य भएको अवस्थामा पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा स्थानीय तहमै रोजगारी सीर्जना गरी विदेश पलायन हुनबाट युवा जनशक्ति रोक्न सकिने बुद्धिजीवि बुद्धिराम नेपालीको भनाई छ ।