नयाँ वर्ष २०७२ सालको भव्य स्वागत

काठमाडौं । नयाँ वर्ष २०७२ सालको नेपाल लगायत विश्वभर रहेका नेपालीहरुले अनेकौ कार्यक्रम गरी भव्य स्वागत गरेका छन । 
आज २०७२ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यो वर्ष  संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकले स्थिरता र विकासको बाटो पहिल्याउने आशा गरिएको छ ।
आज नयाँ आशा र उत्साहकासाथ वर्ष २०७२ को स्वागत गरिदैछ । विगतका अनगिन्ती मतभेद र द्धन्द्धका श्रीखंलाहरुलाई विर्सदै दलहरुले २०७२ सालको सुखद् सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
नयाँ वर्षमा वर्ष दलहरुले नयाँ संविधान दिएर मुलुकलाई सही बाटोमा अग्रसर बनाउन सफल हुने अपेक्षा गरिएको छ । 
यसैबीच राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतले नयाँ वर्ष २०७२ को शुभकामना दिँदै यो वर्ष जनताले संविधान पाउने स्थिति निर्माण गर्न अपिल गरेका छन् ।
यादवले नयाँ वर्षसँगै नयाँ लोकतान्त्रिक संविधान जारी भई मुलुकमा राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भनेका छन् । 
यस्तै प्रधानमन्त्री कोइरालाले आन्दोलन र संघर्षका कार्यक्रम बन्द गरी संविधान निर्माणमा जुट्न विपक्षीलाई आग्रह गरेका छन् ।
उनले आफ्नो शुभकामना सन्देशमा राजनीतिक दल, नागरिक समाज, आमनागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आ-आफ्नो स्थानबाट सहयोग गर्न समेत अपिल गरेका छन् । इमेजखबरमा समाचार छ । 
नयाँ वर्षमा देशभर वर्षा
पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई आईतवार देखि देशका अधिकांश भेगमा वर्षा भएको छ। 
 
मुलुकको मौसममा सुधार आउन अझै दुई/तीन दिन लाग्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिए। 
 
उनका अनुसार गएरातिदेखि नै मौसम बदली भई देशभर वर्षा भएको र सबैभन्दा बढी ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ। 
 
निरन्तरको वर्षाले काठमाडौँ उपत्यकामा केही चिसो महसुस गरिएको छ। खासगरी भत्काइएका शाखा र भित्री सडक, गल्ली हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ। रासस