सिजनल फ्लुका कारण जाजरकोटमा थप चार जनाको मृत्यु

जाजरकोट – चैत दोस्रो साताबाट फैलिएको सिजनल फ्लुका कारण जाजरकोटमा थप चार जनाको ज्यान गएको छ। सरकारले रोग नियन्त्रणमा अाएकाे बतार्इरहेका बेला थप चारजनाको ज्यान गएको हो।
योसँगै उक्त रोगबाट मर्नेको संख्या १५ पुगेको छ।  मंगलबार  टालेगाउँ गाविस वडा नं १ की मैसरा सिंह,  वडा नं ३ की माङली परियार, वडा नं ३ की सेती कमिनी  र टालेगाउँ-६ हस्तबहादुर नेपालीको मृत्यु भएको मान्नेढुंगा उच्च माविका प्रधानाध्यापक धनबहादुर सिंहले जानकारी दिए।
सिंह तीन दिनदेखि बिरामी भएको र परियार र कमिनी दुई दिनदेखि बिरामी परेको  सिंहले बताए। उनले  गाउँमा  डेढ सयभन्दा बढी बिरामी भएको र दिनदिनै बिरामी बढिरहेको बताए। त्यसैगरि सोही रोगका कारण टालेगाउँ-६ का नेपालीको सोमबार मृत्यु भएको स्थानीय हरिदेवी भट्टराइले बताइन्।
अहिलेसम्म उक्त रोगको प्रकोपबाट पैंक गाविसमा ९ जना,  अर्छानीमा १ र  टालेगाउँमा ५ जनाको ज्यान गइसकेको छ। दुई सातादेखि पहिचान हुन नसकेको भनिएको उक्त रोग सिजनल फ्लु भएको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य  निर्देशनालय सुर्खेतका निर्देशक डा. राजेन्द्र पन्तले बताए। उनले  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षण रिपोर्टले जाजरकोटमा फैलिएको रोग सिजनल फ्लु भएको बताए।
उनले सरसफाइको कमी, शुद्ध खानेपानीको अभावका कारणले रोगको संक्रमण बढेको बताए। रोग नियन्त्रणका लागि तीनवटा डाक्टरको टोली तयारी अवस्थामा राखिएको पन्तले बताए। उनले यो रोगबाट गम्भिर बिरामी भएकालाई लागि औषधी पठाइएको बताए। नागरिकन्युजमा समाचार छ ।