अमेरिकाको वासिङटनस्थित एक अदालतले इराकमा १४ सर्वसाधारणको हत्या गरेको अभियोगमा अमेरिकी निजी सैनिक कम्पनी ब्ल्याकवाटरका पूर्व गार्ड निकोलस स्लाटेनलाई आजीवन कारावासको सजायँ सुनाएको छ ।
सन् २००७ को उक्त हत्याकाण्डमा संलग्न अरु तीन जनालाई भने ३०/३० वर्षको जेल सजायँ सुनाइएको छ । बग्दादको निसुर स्वायरमा मानिसहरुको भीडमा ती पूर्व गार्डले गोली चलाउँदा १४ जना मारिएका थिए ।
अमेरिकी सुरक्षाकर्मीहरुका लागि बाटो खुलाउने क्रममा उनीहरुले गोली चलाउँदा अरु १७ जना घाईते भएका थिए । आरोपितहरुले भने विद्रोहीविरुद्ध प्रत्याक्रमण गरेको भन्दै आफुहरु निर्दोष रहेको जिकीर गरेका थिए ।
सरकारी अभियोजनकर्ताहरुले सर्वसाधारणमाथि उनीहरुले अन्धाधुन्ध गोली हानेको दलील गरेका थिए । ती पूर्व गार्डले गोली हानेको प्रति कुनै पश्चाताप नगर्ने बताएका थिए ।
सुनुवाईका लागि पीडित पक्ष र प्रत्यक्षदर्शीहरु इराकबाट अमेरिका पुगेका थिए । उक्त गोलीकाण्डको व्यापक विरोध भएको थियो भने युद्धका बेला लिइने निजी कम्पनीका सुरक्षागार्डको भूमिकामै बहस थालिएको थियो । एजेन्सी