गएराति दिल्लीमा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको अन्त्येष्टीका लागि सरकारले सबै व्यवस्था मिलाउने भएको छ।
राजकीय सम्मानका साथ हुने उनको अन्त्यष्टीका लागि भारतबाट शव ल्याउन आवश्यक पहल सरकारले नै चाल्ने भएको छ।
आजै दिल्लीबाट उनको पार्थिव शरीर ल्याएर थापाको निवास मालिगाउँमा राखिने भएको छ। यसपछि भोलि शुक्रबार बिहान पार्टी कार्यालय चाबहिलमा उनको शव राखेर श्रद्धाञ्जलीको व्यवस्था गरिएको छ। यसैगरी दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उनको पार्थिव शरीर राखिने भएको छ।
त्यसपछि शुक्रबारे उनको अन्तिम दाहसंस्कार गरिने निर्णय भएको राप्रपाका महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहोराले बताए।
यसैबीच बिहीबार प्रधानमन्त्रीलाई भेट्न हरिबहादुर बस्नेत र सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा पुगेका थिए। उनीहरूलाई प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट गर्ने सम्पूर्ण काम गरिने आश्वासन दिएका थिए। सेतोपाटीमा समाचार छ ।