राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनै पनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने, ७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका दिन सबै जिल्ला पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थापक अध्यक्ष थापाको निधनबाट भावविह्वल एवम् शोक सन्तप्त नेता तथा कार्यकर्तालाई धैर्यधारण गर्नसमेत आह्वान गरेको छ । नेता थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चाबहिल र सार्वजनिक श्रद्धाञ्जलिका लागि सोही दिन एकदेखि तीन बजेसम्म दशरथ रङ्गशालामा राखिने प्रवक्ता ठाकुरप्रसाद शर्माले जानकारी दिए।
यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज वक्तव्य प्रकाशन गरी नेता थापाको असामयिक निधनको खबरले आफूलाई दुःखी तुल्याएको जनाएको छ । छ दशकदेखि नेपाली राजनीतिमा सक्रिय थापाले पाँच पटक मुलुकको प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका थिए। थापा संविधानसभाका ज्येष्ठ सदस्य हुनाका साथै पछिल्ला दिनमा समेत मुलुकमा कायम रहेको राजनीतिक गत्यावरोध अन्त्य गर्न क्रियाशील थिए। रासस