पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाप्रति श्रद्धाञ्जलि व्यक्त  गरेका छन्। 
पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिएको थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे। पार्टी कार्यालयमा पुगी नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र पूर्वसभामुख तारानाथ रानाभाटले पनि केन्द्रीय कार्यालयमा पुगी थापाप्रति श्रद्धाञ्जलि व्यक्त गरे। 
कार्यालयमा राप्रपाका केन्द्रीय पदाधिकारीलगायत तथा कार्यकर्ताको ठूलो भिड लागेको छ। उनको पार्थिव शरीर मध्याह्न १२ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने पार्टीले जनाएको छ। 
पार्टी कार्यालयमा श्रद्धाञ्जलि सकिएलगत्तै सार्वजनिक श्रद्धाञ्जलिका लागि अपराह्न १ बजेदेखि दशरथ रङ्गशालामा राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ।
पूर्वप्रधानमन्त्री थापाको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति अठासी वर्षका उमेरमा निधन भएको थियो । रासस