एमाओवादीले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया अगाडि बढाइए त्यसको विरोध गर्ने

काठमाडौं, वैशाख ६ – एमाओवादीले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया अगाडि बढाइए त्यसको विरोध गर्ने जनाएको छ । कांग्रेस-एमालेको आइतबार बिहान बालुवाटरमा बसेको बैठकले सहमति नभए प्रक्रिया अगाडि बढाएर भए पनि असार मसान्तभित्र संविधान जारी गर्ने दिशामा अघि बढ्ने निर्णय गरेपछि एमाओवादीको यस्तो प्रतिक्रिया आएको हो । संविधानसभाको अर्को बैठक बिहीबार बस्दैछ ।
‘सत्ता पक्ष प्रक्रियामा अगाडि गए हाम्रो विरोध रहन्छ । आधारभूत विषयमा सहमति नभई संविधान निर्माण प्रक्रिया अगाडि बढाएर समस्याको समाधान हुँदैन,’ एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटाले भने । आफूहरुले २ दिनको आमहड्तालसहितका विरोधका कार्यक्रम स्थगन गरेर सहमतिका लागि हात अघि बढाए पनि सत्तापक्ष जिम्मेवार र लचक नभएको उनले बताए ।
‘दोस्रो तहका नेताहरुबीचको अनौपचारिक कुराकानीमा संविधानका विवादित विषयबस्तुमा सहमति हुन बाँकी विषय धेरै छैन । तर दुई तिहाई छ, किन उदारता देखाउने भन्ने मानसिकता सत्तापक्षमा देखियो,’ सापकोटाले भने, ‘बुझ्दै जाँदा सहमतिको कुरा त औपचारिकताका लागि मात्र गरिएको रहेछ । उहाँहरुमा दुई हिहाइको दम्भ रहँदासम्म समाधान निस्कदैन ।’ ईकन्तिपुरमा समाचार छ ।