कांग्रेसभित्र रहेको भागबण्डाको राजनीतिविरुद्धमा रामचन्द्र पौडेल

तनहुँ  – कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेसभित्र रहेको भागबण्डाको राजनीतिलाई तोड्ने अभियानमा आफू लागि सकेको बताएका छन् ।
क्यामिन २ माझफाँट कुमालगाउँ स्थित चण्डीभँगेर कुमाल आमा समूहद्वारा निर्मित सामुदायिक भवनको सोमबार उद्घाटन गर्दै उपसभापति पौडेलले कांग्रेसलाई विभाजन गर्न चाहने भाले मौरीहरुविरुद्व आफू अघि बढेको बताए । घुमाउरो पारामा उनले १३ औं अभिबेशनमा आफूले सभापतिको उम्मेदवारी दिने बताए । पार्टी भित्र रहेको विकृति र विसंगतिलाई अन्त्य गर्न आफू लागि सकेकाले सवैबाट साथ र समर्थन चाहेको समेत उनले बताए ।
‘कर्मी मौरीहरुले फूलको रस बटुलेर ल्याएर रसको चाका लगाउँछ । एउटा भाले मौरी त्यही बसीबसी रस खाएर मोटाउँछ,’ उपसभापति पौडेलले भने, ‘यी दुई थरी छन् यहाँ, त्यसकारण भाले मौरीहरु जसले पार्टी विभाजन र भागबण्डा तोड्ने अभियानमा म अगाडि बढिसकेको छु । सवैलाई यो जानकारी गराउन चाहन्छु ।’ उनले आफू भने पोथी मौरीजस्तो दुःख गरिरहेको बताए ।
राष्ट्रियता, समाजवाद र लोकतन्त्रले नै मुलुकको दिगो विकास हुने भएकाले सोही मर्म अनुसार  अघि बढेर आफूले मुलुकलाई विकासतर्फ लम्काउने उनले बताए । कांग्रेसको मर्म र सिद्वान्तले नै मुलुकले दिगो विकास र गति लिने समेत उनले बताए । वैदेशिक रोजगारीका लागि सयौं युवा विदेशिनु मुलुकको लागि घाटा भएकोले स्वदेशमा नै रोजागरी सृजना गरी युवाशक्तिलाई विकासमा लगाउनु पर्नेमा उनले जोड दिए ।
‘कांग्रेसको विचार र सिद्वान्तले नै मुलुकको हित हुन्छ भन्ने कुरा जनताले बुझिसकेका छन्,’ उनले भने, ‘कांग्रेसकै कारण ग्रामिण क्षेत्रहरुमा बाटोघाटो र विकास निर्माणका कामले गति लिएका हुन् ।’
जनताले आफूलाई विश्वास गरेर दिएको मतको आफूले सक्दो सम्मान गर्ने समेत उनले बताए । सभासद रामचन्द्र पोखरेलले मुलुकमा कम्युनिष्ट विचारमा जनताले विश्वास गर्न छाडि सकेकाले समेत रहने जनतामा आग्रह गरे । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले मुलुकका ग्रामिण क्षेत्रहरुमा समेत विकास निर्माणका कार्य पुर्‍याउन राज्य सकृय भएको बताए । ईकन्तिपुरमा समाचार छ ।